• Friday 24th of July 2026

गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण


  • आशाका किरण

पर्वत, २ कात्तिक : पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो ।

गाउँपालिकालाई पशुपालनका माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले तीन वर्षदेखि सञ्चालन गरिएको सुत्केरी गाईभैँसीलाई पोषण भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएकाले यस वर्ष पनि निरन्तरता दिइएको पालिका कार्यालयले जनाएको छ ।

कृत्रिम गर्भाधानका माध्यमबाट गाईभैँसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र आचार्यले बताउनुभयो । कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी र बाच्छाबाच्छी पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ थियो ।

“कृत्रिम गर्भाधान गराएका गाईभैँसीबाट जन्मिएका पाडापाडी र बाच्छाबाच्छी चार महिना पालेपछि मात्र अनुदान दिने गरिएको छ”, आचार्यले भन्नुभयो, “जसले गर्दा कृषकले उन्नत जातका पाडापाडी र बाच्छाबाच्छी पाल्न थालेका छन् ।”

विशेष गरेर जन्मिँदाबित्तिकै भैँसीका पाडापाडी काटेर खाने (नपाल्ने) चलन हटाएर संरक्षण गर्न कार्यक्रम सञ्चालन गरिएको भन्दै यो कार्यक्रम प्रभावकारी देखिएको पशु सेवा प्राविधिक दिपक श्रेष्ठले बताउनुभयो । गत आर्थिक वर्ष २०७९÷८० मा ७२ जना कृषकलाई पाडापाडी र बाच्छाबाच्छी हुर्काएबापत पोषण भत्ता स्वरुप रू दुई हजार पाँच सयका दरले कूल रू एक लाख ८० हजार वितरण गरेको शाखाले जनाएको छ ।

जनप्रतिनिधि र पशु सेवा प्राविधिकले बाच्छाबाच्छी र पाडापाडीको अनुगमन गरेर अनुदान उपलब्ध गराउने कार्यविधि छ । नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमका अलावा उन्नत जातका राँगो, साँढे र बोकासमेत वितरण गरेको छ । यसका लागि अनिवार्य पशुबीमा गर्नुपर्ने उल्लेख गरिएको छ ।

पालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउन बाख्रा, गाईभैँसी र कुखुरापालनको पकेट क्षेत्र बनाएर कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । उत्पादन लागत घटाउन घाँसमा आधारित पशुपालनका लागि बहुबर्षे डाले र भुइँघाँस खेती विस्तारका लागि बीउ र बिरुवा वितरण गरेको छ ।

वार्षिक १९ लाख ५२ हजार ३१४ लिटर दूध आवश्यकपर्ने जलजला गाउँपालिका दूधमा आत्मनिर्भर बनेर निकासी गर्ने अवस्थामा पुगेको पशु स्वास्थ्य प्राविधिक श्रेष्ठले जानकारी दिनुभयो । वार्षिक २७ लाख ६३ हजार एक सय ५० लिटर दूध उत्पादन हुने जलजलाबाट आठ लाख १० हजार आठ सय ३६ लिटर दूध निकासी हुने गरेको उहाँले बताउनुभयो ।

वार्षिक तीन लाख तीन सय ५६ किलोग्राम मासु आवश्यकपर्नेमा एक लाख ७१ हजार ५३ किलोग्राम र १० लाख २९ हजार सात सय ९२ वटा अण्डा आवश्यकपर्नेमा छ लाख ५७ हजार दुई सय ८० वटा उत्पादन हुने गरेको जलजलाको पशु सेवा शाखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij