• Friday 24th of July 2026

उपप्रधानमन्त्री खड्का जाजरकोट भूकम्पको केन्द्रविन्दुमा


  • आशाका किरण

काठमाडौँ, १९ कात्तिक : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का जाजरकोट भूकम्पको केन्द्रविन्दुमा पुग्नुभएको छ । भूकम्प आएदेखि निरन्तर प्रभावित क्षेत्रमा खटिनुभएका उपप्रधानमन्त्री खड्का आज विहान जाजरकोट सदरमुकाम खलङ्गालगायतका क्षेत्रमा पुगी स्थलगत निरीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा पुगी रक्षामन्त्री समेत रहनुभएका खड्काले उद्धार तथा राहत वितरणबारे जानकारी लिनुका साथै राहत वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिनुभयो । उहाँले भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटका स्थानीयसँग कुरा गर्दै उद्धार सकिएको र अब सरकारले सम्पूर्ण शक्ति राहत वितरण र पुनःनिर्माणमा लगाउने बताउनुभयो ।

“सरकारले राहत वितरण सुरु गरिसकेको छ । राहत सामग्री पालिकालाई जिम्मा लगाउने र वडामार्फत वितरण हुन्छ”, उहाँले भन्नुभयो, “यस घडीमा सबैले मिलेर राहत वितरण र अनुगमनमा सहयोग गर्नुपर्छ ।”

उपप्रधानमन्त्री खड्काले बारेकोट गाउँपालिकामा दुई हजार पाँच सय परिवार घरमा बस्न नसक्ने अवस्थामा रहेको तथ्याङ्क आफूले प्राप्त गरिसकेको भन्दै प्राथमिकताका साथ राहत वितरण हुनेछ भन्नुभयो । केही राहत सामग्री आइसकेको र थप सामग्री आउने क्रममा रहेको जानकारी दिँदै उपप्रधानमन्त्री खड्काले वडाअध्यक्ष, वडा सदस्य र राजनीतिक दलको समन्वयमा राहत वितरणलाई प्रभावकारी र निष्पक्ष बनाइनेमा जोड दिनुभयो ।

सो अवसरमा भूकम्प प्रभावित जनताले आफूहरुले भूकम्पका कारण ठूलो जनधनको क्षति बेहोरेको भन्दै उपप्रधानमन्त्री खड्कासँग पुनःस्थापनाको काम छिटो गरिदिन आग्रह गर्नुभएको थियो ।

“सरकारले भूकम्पपीडितको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेको र अब राहत विरतणलाई तीव्रता दिन्छ”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “राहत वितरण लगत्तै पुनःनिमार्णको काम सुरु हुन्छ ।” उपप्रधानमन्त्री खड्का पछिल्लो तीन दिनदेखि भूकम्प प्रभावित क्षेत्रमै रही स्थलगत निरीक्षण, उद्धार, राहत वितरणलगायतमा निरन्तर खटिनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij