• Friday 24th of July 2026

गार्मेन्ट कामदारको ज्यालामा ५६.२५ प्रतिशत वृद्धि, निर्णयप्रति यूनियनको विमति


  • आशाका किरण

बङ्गलादेशले आफ्ना ४० लाख गार्मेन्ट कामदारको न्यूनतम मासिक ज्यालामा मङ्गलबार ५६.२५ प्रतिशतले वृद्धि गरेको छ । सरकारी निर्णयप्रति मजदूर यूनियनले तत्काल विमति राख्दै विद्यमान ज्यालामा तेब्बर वृद्धि गर्नुपर्ने पूर्ववत् अडान कायम रहेको बताएको छ ।

“गार्मेन्ट फ्याक्ट्रीमा काम गर्ने कामदारहरूको नयाँ न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाका (११३ अमेरिकी डलर) निर्धारण गरिएको छ,” सरकारले नियुक्त गरेको न्यूनतम ज्याला निर्धारण समितिका सचिव राइशा अफरोजले एएफपीसँग बताउनुभयो ।

बङ्गलादेशका करिब तीन हजार ५०० गार्मेन्ट कारखानाहरूले दक्षिण एसियाली देशको वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको लगभग ८५ प्रतिशत हिस्सा ओगटेका छन् ।

बङ्गलादेशले लेभिज, जारा र एच एन्ड एमलगायत फेसन ब्राण्डमा विश्वभर तयारी पोशाक आपूर्ति गर्दछ । तर, यस क्षेत्रका ४० लाख कामदारमध्ये अधिकांशको अवस्था दयनीय छ ।

न्यून आयभएका कामदारमध्ये अधिकांश महिलाहरू छन् जसको मासिक ज्याला आठ हजार ३०० टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ ।

मासिक ज्याला कम्तीमा २३ हजार टाकाको माग गर्दै आएका युनियनहरूले सरकारी निर्णयलाई तत्काल अस्वीकार गरेका थिए ।

युनियनहरूले बङ्लादेशमा मुद्रास्फीति जुनदेखि अक्टोबरसम्ममा करिब १० प्रतिशत बृद्धि भएको र जीवनयापनको लागत आंशिक रूपमा गत वर्षको सुरुदेखि नै बढेको र अमेरिकी डलरको तुलनामा बङलादेशी मुद्रा लगभग ३० प्रतिशतले अवमूल्यन भएको भन्दै तलवमानमा थप वृद्धि हुनुपर्ने बताएका छन् ।

“यो अस्वीकार्य छ । यो हाम्रो अपेक्षाभन्दा कम हो,” बङ्लादेशगार्मेन्ट एन्ड इन्डस्ट्रियल वर्कर्स फेडेरेसनका प्रमुख कल्पोना अख्तरले भन्नुभयो ।

ज्याला निर्धारण समितिको बैठक सामान्यतया प्रत्येक पाँच वर्षमा बस्छ । सन् २०१८ मा आधारभूत न्यूनतम पाँच हजार टाकाबाट आठ हजार टाका पु-याएको थियो । यसबाहेक गार्मेन्ट कामदारले पनि हाजिरी शुल्कको रूपमा प्रति महिना कम्तिमा ३०० टाका पाउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij