• Friday 24th of July 2026

उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा


  • आशाका किरण

जी–७ का विदेशमन्त्रीहरूले उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा ‘कडा निन्दा’ गरेको जापानले बुधबार बताएको छ ।

जापानको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “उत्तर कोरियाको लगातारको ब्यालेस्टिक मिसाइल प्रक्षेपणका साथै रुसलाई हतियार हस्तान्तरणप्रति जी–७ का विदेशमन्त्रीहरूले कडा निन्दा गर्नुभएको छ, यसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रासङ्गिक प्रस्तावहरूको उल्लङ्घन गरेको छ ।”

युक्रेनसँगको युद्धमा प्रयोग गर्नका लागि उत्तर कोरियाले रुसलाई १० लाखभन्दा बढी तोप प्रदान गरेको र त्यसको बदलामा प्योङयाङले स्याटेलाइट प्रविधिमा सल्लाह लिइरहेको देखिएको सोलको जासुसी एजेन्सीलाई उद्धृत गर्दै दक्षिण कोरियाका एक सांसदले यसै महिनाको सुरुमा बताएका थिए ।

दुवै देशका नेताहरू किम जोङ उन र भ्लादिमिर पुटिनले सेप्टेम्बरमा रुसको सुदूर पूर्वमा एउटा उच्चस्तरको शिखर सम्मेलन आयोजना गर्नुभएको थियो । त्यसपछि प्योङयाङले मस्कोलाई हतियार प्रदान गर्न सुरु गरेको वासिङ्टनले दावी गरेको थियो ।

आक्रामक हुँदै गएको चीनसँग कसरी राम्रो तरिकाले संलग्न हुन सकिन्छ भन्नेबारे पनि जी–७ को बैठकमा चर्चा भएको थियो । “विश्वव्यापी चुनौतीहरूका साथै साझा चासोका क्षेत्रमा चीनसँग मिलेर काम गर्ने आवश्यकतालाई स्वीकार गर्दै विदेशमन्त्रीहरूले चीनसँग स्पष्टरूपमा संलग्न हुने र हाम्रा चासोहरूलाई सिधै व्यक्त गर्ने महत्त्वलाई एक पटक पुनः पुष्टि गर्नुभएको छ”, जापानले भनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij