नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा सवारीले किचेर महिलाको हत्या गरिएको घटनामा संलग्न दोषीमाथि हदैसम्मको कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद महरले कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया नजिकै महाकाली यातायातको बसले बझाङको मष्टा गाउँपालिका–६ की सिन्की बोहरामाथी नियतवश दुर्घटना गराएको आरोप लगाउनुभयो ।
सानो व्यवसाय गरेर बालबच्चा पालनपोषण गर्दै आउनुभएकी बोहरालाई सडकमा लडेपछि पुनः गाडी पछाडि फर्काएर किचेर घटनास्थलमै ज्यान लिएको उहाँले बताउनुभयो ।
सांसद महरले घटनापछि विरोधमा उत्रिएका मृतकका आफन्त र स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाउनुभयो । प्रहरीले जबर्जस्ती शव उठाएर लैजाने क्रममा मृतकका श्रीमान्माथि लाठी प्रहार गरी घाइते बनाएको उल्लेख गर्दै उहाँ अस्पतालमा उपचाररत रहेकोसदनलाई जानकारी दिनुभयो
अहिलेसम्म शव नबुझिएको र पीडित परिवार आन्दोलनमा रहेको भन्दै सांसद महरले बालबच्चाको बिचल्ली भएको प्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले घटनाको सत्यतथ्य छानबिन गरी चालक र संलग्न दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित न्याय र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो ।
