भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो भन्दा छिटो नागरिकको उद्दार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनीहरुले बाढीका कारण रसुवा र नुवाकोटमा हजारौ नागरिकलाइ उद्दारको खाँचो रहेको भन्दै छिटो भन्दा छिटो नागरिकको उद्दार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा नुवाकोटका सांसद अर्जुन नरसिंह केसीले विपद् प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धार र एकीकृत राहत प्याकेज ल्याउन सरकारसँग माग गर्नुभयो । उहाले बाढीपहिरोले रसुवा, नुवाकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति पु¥याएको भन्दै सरकारलाई सम्पूर्ण विवाद थाती राखेर उद्धार, राहत र पुनस्र्थापनामा युद्धस्तरमा खटिन आग्रह गर्नुभयो । बेपत्ता नागरिकहरूको खोजी र ऐतिहासिक बजारहरूको पुनर्निर्माणका लागि तत्काल एकीकृत प्याकेज घोषणा गर्न समेत उहाले माग गर्नुभयो ।
त्यस्तै रसुवाका सांसद मोहन आचार्यले प्रारम्भिक अनुमानमै ठूलो संख्यामा मानवीय क्षति भएको र यो शताब्दीकै ठूलो विपत्तिजस्तो देखिएकाले सरकारले यसलाई तत्काल ‘राष्ट्रिय विपद्’ घोषणा गरी उद्धार र राहतमा लाग्नुपर्ने बताउनुभयो । बाढीका कारण सडक सञ्जाल विच्छेद भएकाले उद्धारका लागि हेलिकप्टर बाहेक विकल्प नरहेको भन्दै उहाले उपलब्ध सम्पूर्ण हेलिकप्टरहरू तत्काल रसुवा पठाएर घाइते तथा अलपत्र नागरिकको उद्धार गर्न माग गनुृभयो ।
त्यस्तै सांसद वसुमाया तामाङले हेलिकप्टरसहितका टोली पूर्ण क्षमतामा परिचालन गरी सम्पर्कविहीन नागरिक तथा सुरक्षाकर्मीहरूको अविलम्ब खोजी र उद्धार गर्न माग गर्नुभयो । घरबारविहीन हजारौँ पीडितहरूका लागि निःशुल्क खानपिन, अस्थायी बसोबास र घाइतेहरूको तत्काल निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने उहाले बताउनुभयो । उहाले जनधन तथा पूर्वाधारको क्षति मूल्याङ्कन गर्न उच्चस्तरीय टोली गठन गरी दीर्घकालीन पुनस्र्थापना र उचित क्षतिपूर्ति प्याकेज घोषणा गर्न समेत माग गर्नुभयो ।
त्यस्तै अन्य सांसदहरुले पनि स्थानीय प्रशासनसँग समन्वय गरी उद्धारमा जुट्न र जोखिमयुक्त यात्रा तत्काल रोक्न आग्रह गरेका छन् ।
