राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एकढिक्का भएर राहत तथा उद्धारमा परिचालित हुन आह्वान गर्नुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले अहिलेको अवस्थामा सबै राजनीतिक दल एक ठाउँमा उभिने प्रतिवद्धता आएको भन्दै दलहरूसँग रहेका राहत तथा उद्धार संयन्त्रलाई सरकारसँग समन्वय गरी परिचालन गर्न आग्रह समेत गर्नुभयो । उहाँले दलका राहत तथा उद्धारमा दक्ष, जानकार र तालिमप्राप्त जनशक्तिलाई सरकारी निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालन गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले सरकारले आफ्नो सम्पूर्ण सामथ्र्य सबैभन्दा पहिला नागरिकलाई बचाउनमा लगाउने विश्वास व्यक्त गर्नुभयो । बाढी प्रभावित रसुवा र धादिङका नदी तटीय क्षेत्रका बासिन्दालाई थप क्षति हुन नदिन सचेत रहन, धैर्य धारण गर्न र सरकारी संयन्त्रको सम्पर्कमा रहन उहाँलेआग्रह गर्नुभयो ।
त्यस्तै उहाँले संसद्को सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा रास्वपाले विपद् व्यवस्थापनमा बढी जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै आवश्यक समन्वयका लागि पार्टीले अग्रसरता लिने जानकारी दिनुभयो । सभापति लामिछानेले बाढीबाट भएको अपूरणीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकसँग सिङ्गो राष्ट्र र सरकार साथमा रहेको बताउनुभयो ।
