नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विपत्तिका बेला दलीय मतभेदलाई थाती राखेर राष्ट्र र नागरिकको पक्षमा एक ठाउँमा उभिने प्रतिवद्धता जनाउनुभएको छ ।
बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा प्रचण्डले विपत्तिमा राजनीति नभइ राष्ट्रिय एकताको खाँचो रहेको समेत बताउनुभयो । रसुवाको भोटेकोशी बाढीले सिर्जना गरेको गम्भीर सङ्कटबाट पार पाउन सरकारलाई पार्टीको पूर्ण साथ र सहयोग रहने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । बाढीपहिरोका कारण भएको भयानक मानवीय र भौतिक क्षतिको यस कठिन घडीमा सबै पक्ष समझदारीका साथ अघि बढ्नुपर्ने र यस नकारात्मक घटनालाई राष्ट्रिय एकताको नयाँ सङ्कल्पमा बदल्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले विपद् लगत्तै प्रधानमन्त्री तथा गृहमन्त्रीले देखाएको तत्परता र सक्रियता राम्रो देखिएको भन्दै राहत तथा उद्धारमा निरन्तर खटिनुपर्नेमा जोड दिनुभयो ।
