सांसद बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिको बैठक मङ्गलबार बस्ने भएको छ ।
सोमबार सिंहदरबारमा काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख डोल प्रसाद अर्यालले मङ्गलबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर सांसद बैठक सञ्चालनको टुङ्गो लगाउने बताउनुभएको हो ।
सदन विपद्का कारण केही दिन स्थगित गरिएको भए तापनि अब तत्काल सञ्चालन गर्न आफूले सभामुखको ध्यानाकर्षण गराएको आङ्देम्बेले बताउनुभयो ।
जवाफमा सभामुख अर्यालले कार्यव्यवस्था परामर्शको बैठक पश्चात सांसद आह्वान गरिने प्रतिवद्धता जनाउनुभएको आङ्देम्बेले जानकारी दिनुभयो । उहाँले विपद् व्यवस्थापन, राहत वितरणमा हुने दोहोरोपना रोक्न र वास्तविक पीडितलाई राज्य भएको अनुभूति दिलाउन सांसद तथा संसदीय समितिहरूबाट सूक्ष्म निगरानी र निर्देशन हुनुपर्ने उल्लेख गर्नुभयो ।
सत्तारूढ दलका सभापतिको आह्वानमा बसेको सर्वदलीय बैठकका निर्णयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन संसद्को भूमिका अपरिहार्य रहेको आङदम्बेको भनाइ छ ।
