• Wednesday 9th of September 2026

मुलुक विपत्तिमा परेका बेला राष्ट्रिय एकताको खाँचो छ: रवि लामिछाने


  • आशाका किरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुक विपत्तिमा परेको अवस्थामा राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ । 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले विपद् व्यवस्थापनमा सरकारको भूमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत चस्माले हेर्न नहुने भन्दै सुरुवाती घन्टादेखि नै राज्य संयन्त्र प्रभावकारी रूपमा परिचालन भएको दाबी समेत गर्नुभयो ।

उहाँले  अहिले राज्यले भग्नावशेषमा हराएका मानव जीवनको खोजी गरिरहेको भन्दै संवेदनशील समयमा हवाई उद्धार र राहत वितरणमा सरकारले देखाएको व्यवस्थापन र सक्रियता वास्तवमै प्रशंसनीय रहेको धारणा राख्नुभयो । उहाँले  भदौ १० को विपत्तिमा ज्यान गुमाउनेहरूलाई सामान्य प्राकृतिक विपत्तिका मृतक मात्र मान्न नसकिने र उनीहरू विश्वव्यापी जलवायु अन्यायका निर्दोष पीडित भएको धारणा राख्नुभयो ।

कार्बन उत्सर्जन र पृथ्वीको तापक्रम बढाउन नेपालको कुनै भूमिका नभए पनि जलवायु सङ्कटको सबैभन्दा ठूलो मूल्य चुकाउन बाध्य भएका नागरिकहरूलाई मानव सभ्यताले विशेष दर्जा दिनुपर्ने उहाँले  बताउनुभयो । सभापति लामिछानेले  प्रभावित क्षेत्रलाई ’विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिएको, हवाई उद्धार व्यापक रूपमा भएको र घरबारविहीनहरूलाई होल्डिङ सेन्टरमा राखेर राज्यले तत्कालीन जिम्मेवारी लिएको उल्लेख गर्नुभयो । उहाले सर्वस्व गुमाएका नागरिकको चित्कार र आक्रोश राज्यप्रतिको अन्तिम गुहार भएकाले त्यसलाई सुनेर आँसु पुछ्‌ने फराकिलो छाती राज्यसँग हुनुपर्ने बताउनुभयो ।

बिपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी वा साइबर बलिङ नगर्न आग्रह गर्दै उहाँले  रास्वपाका कुनै पनि तहका सदस्य पदाधिकारी यस्तो कार्यमा संलग्न भेटिए साधारण सदस्यतासमेत नरहने गरी तत्काल निष्कासन गरिने चेतावनी दिनुभयो । 

सभापति लामिछानेले राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर सिङ्गो राष्ट्र एक भई पुनर्निर्माण र विश्वसामु जलवायु न्याय माग्न एकीकृत आवाज उठाउनुपर्ने धारणा राख्नुभयो । उहाँले  अहिलेको बाढीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्तिको घोषणा गर्दै विपत्तिको कारण, क्षति तथा यसको अन्तर्राष्ट्रियकरणको लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्न आग्रह गर्नुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij