• Friday 24th of July 2026

किवी खेतीतर्फ किसानको आकर्षण


  • आशाका किरण

पाल्पाको हावापानीमा किवी खेतीको सफल परीक्षणपछि यस खेतीतर्फ किसानको आकर्षण बढेको छ । पहाडी जिल्ला पाल्पामा पहिलोपटक परीक्षणका रूपमा किवी खेती खरिएको हो । परीक्षणकै लागि रोपिएको किवीले प्रशस्त फलसँगै आम्दानीसमेत बढेपछि किसान यसको व्यावसायिक खेतीतर्पm लम्किन खोजेका छन् । पूर्वखोलास्थित जल्पा र माथागढीको ओलेसमा किवी खेतीको सफल परीक्षण भएको छ । चार वर्षअघि जल्पाको ढोलीमारा र माथागढीको ओलेसमा परीक्षणकै रूपमा रोपिएको किवीबाट राम्रो फल फल्न थालेको छ । किवीको उत्पादन हुन थालेपछि किसान बिरुवाको खोजीमा भौँतारिएका हुन् । व्यावसायिक खेती गरी प्रशस्त आम्दानी हुने सम्भावना रहेको पूर्वखोला–२, ढोलीमाराका स्थानीय बासिन्दा भीमबहादुर सारुले बताउनुभयो । चार वर्षअघि रोपिएको एक भाले र नौ पोथी किवीको बिरुवाले गत वर्षदेखि उत्पादन हुँदै आएको उहाँले बताउनुभयो । “चार वर्षअघि कबुलियती वन कार्यक्रममार्फत एक सेट हेवार्ड जातको किवीको बिरुवा पाएका थियौँ”, सारुले भन्नुभयो, “गत वर्ष फल देखिएको थियो, यो वर्ष राम्रै फलेको ।” नेपालको पूर्वी भेगका पहाडी जिल्लाहरूमा किवीको व्यावसायिक खेती गरिए पनि पश्चिम नेपालमा किवी व्यावसायिक खेती गर्न थालिएको भर्खरै हो ।

“किवी खेतीका बारेमा सुन्दै आए पनि पाल्पामा खेती सफल हुन्छ भन्ने लागेकै थिएन,” ढोलीमाराका स्थानीय बासिन्दा भुवन बाह्रघरेले भन्नुभयो । अहिले राम्रो फलेको देख्दा खुशी लागेको उहाँले बताउनुभयो । किवीको खेती सफल भएपछि गाउँपालिकाले समेत जल्पाको ढोलीमारा, मैदान र साठीकोललाई पकेट क्षेत्र बनाउने योजना अघि सारेको छ । गाउँपालिकाले किवी खेतीसम्बन्धी तालीमसमेत सञ्चालन गरी किसानलाई थप प्रोत्साहन गरेको छ । पूर्वखोला गाउँपालिकाले जल्पाको तीनवटा गाउँलाई किवीको पकेट क्षेत्र बनाउन बजेट विनियोजन गरेर काम अघि बढाएको गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिनुभयो । पछिल्ला वर्ष नेपालमा किवी खेतीप्रति किसानको आकर्षण र आम्दानी बढाएको छ । अहिले प्रतिकिलो रु ५०० देखि ८०० सम्म किवीको कारोवार हुँदै आएको पाइन्छ । गाउँपालिकाले चालु आव २०७६÷७७ मा किवीको पकेट क्षेत्रका रूपमा विकास गर्न रु दुई लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले १० सेट हेवार्ड जातको किवीको बिरुवा वितरण गरिसकेको छ । खाल्डो खन्न, मल किन्नसमेत किसानलाई अनुदान दिइने गाउँपालिकाका कृषि प्राविधिक सन्तोष कँडेलले बताउनुभयो । किवी खेतीका लागि उत्तरतर्फ फर्किएको जग्गा उत्तम हुन्छ ।

एक हजार २०० देखि दुई हजार मिटर उचाइको जग्गामा राम्रो फल फल्ने गर्दछ । पाल्पाको पूर्वखोला गाउँपालिका, माथागढी र बगनासकाली गाउँपालिकाको चापपानीमा समेत किवी खेती गरिएको थियो । पहाडी जिल्ला पाल्पाको हावापानीमा राम्रो किवी खेती गर्न उपयुक्त क्षेत्र रहेपछि व्यावसायिक खेतीतर्फ आकर्षित छन् । कम मिहिनेतमा राम्रो आम्दानी हुने भएपछि किसानको नजर किवीमा गएको छ । जिल्ला वन कार्यालयले कबुलियती वनमा व्यावसायिक रूपमा खेती गर्दै आएको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री जोनमा किवी खेतीका लागि कार्यक्रम नहुँदा किसान चिन्तित बनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij