सुदर्शन बजगाई,आशाका किरण समाचार,काठमाडौं ।अर्थमन्त्री डा. युवराज खतिवडाले कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई सघाउ पुग्ने गरी कर्जाको गुणस्तरमा ध्यान दिन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले कर्जा र जिडिपीको अनुपात ८० प्रतिशत नाघ्न थालेको भन्दै बैंकहरुलाई सचेत गराउनु भएको हो ।उहाँले नेपालको कुल गार्हस्थ उत्पादन र कर्जाको अनुपातको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत चासो देखाइसकेको अवस्थामा बैंकहरुले कर्जाको आयतन बढाउने भन्दा पनि उत्पादन मुलक क्षेत्रमा कर्जा बढाउन ध्यान दिन आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो ‘कर्जा र जिडिपीको अनुपात पनि ८० प्रतिशत नाघ्न थाल्यो यात त कर्जा धेरै छिटो बढीरहेको छ या त जिडिपी अली सोचेजस्तो वृद्धि भएको छैन्’ उहाँले अहिलेको अवस्थामा कुल गार्हस्थ उत्पादनको गणना विधि परिमार्जन गर्नुपर्ने अवस्था समेत आएको बताउनुभयो ।
तरपनि बैंकहरुले कर्जा बढाउँदै गए राष्ट्र बैंकले क्रेडिट सिलिङ लगाउनुपर्ने अवस्था आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘कुल गार्हस्थ उत्पादन बढाउने तर्फ बैंकहरु लाग्न प¥यो कर्जाको आयतन बढाएर अब हामीले उत्पादन बढाउन सकेनौं भने यस्तो दिन आउँछ जुन दिन हामीले पहिला पहिला क्रेडिट सिलिङ लगाउने गथ्र्यौं ।’अर्थमन्त्री खतिवडाले राष्ट्रिय वाणिज्य बैंकलाई ब्याजदरमा ध्यान दिन पनि आग्रह गर्नुभयो । उहाँले निक्षेपमा कम ब्याजदर दिएकोले बचतकर्ता निरास हुन सक्ने र बचत बाहिरिन सक्ने भएकाले ध्यान दिन आग्रह गर्नुभयो । उहाँले दिर्घकालिन रुपमा ठुला लगानीमा प्रवाह हुने कर्जामा स्थिर ब्याजदर कायम गर्ने विषयमा राष्ट्रिय वाणिज्य बैंकले नेतृत्व लिन सक्ने समेत बताउनुभयो । उहाँले बैंकहरु सुरक्षित हुने र व्यवसाय धारापमा पर्ने गरी ब्याजदर उतारचढाव हुँदा बैंक कहिल्यैपनि सुरक्षित हुन नसक्ने बताउनुभयो।
