• Tuesday 8th of September 2026

असिनाले तरकारी खेतीमा क्षति


  • आशाका किरण

हिमपातसँगै परेको असिना पानीका कारण यहाँका किसानले लगाएको तोरी तथा तरकारी खेतीमा क्षति पु¥याएको छ । जिल्लाको आदर्श, सायल, पूर्वीचौकी, जोरायल गाउँपालिका, शिखर नगरपालिका तथा दिपायल सिलगढी नगरपालिका विभिन्न वडामा शनिबार दिउँसो परेको असिनाका कारण फुलेर कोसा लाग्ने अवस्थामा रहेको तरकारीमा निकै क्षति पु¥याएको सायल गाउँपालिकाका वासिन्दा सिद्धराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमपतासँगै एकाएक बाक्लो असिना परेका कारण तोरी र तरकारी खेतीमा निकै ठूलो नोक्सानी गरेको छ, किसानलाई समस्या भयो ।” असिनाले जिल्लाभरिमा २० देखि ३० प्रतिशत तोरीबारी तथा तरकारी खेतीमा नोक्सान भएको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ । शनिबार मौसममा एकाएक आएको परिवर्तनका कारण डोटीलगायत यहाँका अन्य पहाडी तथा हिमाली जिल्लामा दिउँसोदेखि हिमपात र असिना परेको थियो । हिमपात तथा असिनाका कारण यहाँका पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै कम्तीमा पनि दुइफिट हिउँ परेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ ।

यही माघ १४ गते पाँचौँ पटक परेको हिउँ पग्लिन नपाउँदै फरि शनिबार हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । यहाँका बझाङ, बाजुरा तथा अछाम जिल्लाका उच्च लेकाली क्षेत्रमा शनिबार दिउँसोदेखि हिमपात सुरु भएको हो । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्चपहाडी क्षेत्रमा भारी हिमपात र असिना परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिन पहिलेको हिमपातले हिउँदमा लगाएको अन्नबालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै खुशी भएका यहाँका स्थानीयवासी भने पुनः परेको हिउँ तथा असिनाले गहुँलगायतका बाली कुहिने तथा बिग्रिने भन्दै चिन्तित बनेका छन् । यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएका छन् । यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढीलगायतका ठाउँमा लगातार वर्षा भइरहेको छ । पानी र हिमपातका कारण यहाँको तापक्रम घटेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij