• Tuesday 8th of September 2026

च्याउ खेतीबाट महिला आत्मनिर्भर हुँदै


  • आशाका किरण

जुम्लाको तिला गाउँपालिका–१ राराका महिला व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । परम्परागत रुपमा गरिँदै आएको खेतीपातीबाट गुजारा नचल्ने भएपछि उनीहरुले शुरु गरेको च्याउ खेतीले अहिले व्यावसायिक रुप लिएको छ । दुई वर्षअघिदेखि च्याउ खेती शुरु गरेका महिलाले च्याउ बिक्री गरेर वार्षिक रु दुई लाख कमाउन थालेका छन् । बजारमा च्याउको माग बढ्दै गएपछि उनीहरुले उत्पादन गरेको च्याउ अहिले घरबाटै बिक्री हुने गरेको छ । चार वर्षअघि व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाबाट च्याउ खेतीबारे तालीम प्राप्त गरेपछि आफ्नै खेतबाट साना तीनवटा टनेलमा च्याउ खेती शुरु गरेका यहाँका सातजना महिलाको आम्दानीबाट प्रभावित भएर गाउँका अन्य महिलाले पनि च्याउ खेती शुरु गरेका छन् । घरायसी कामभन्दा च्याउ खेती गर्न सजिलो र आम्दानी पनि राम्रो हुने च्याउ खेती गर्दै आउनुभएकी स्थानीयवासी माने रावतले बताउनुभयो । शुरुमा ८० हजार लगानी गरेर दुईवटा टनेल बनाएर शुरु गरिएको च्याउ खेतीबाट मासिक ४५ केजी च्याउ बिक्री हुने गरेका अर्को च्याउ खेती गर्दै आउनुभएकी स्थानीयवासी सरीता बुढाले बताउनुभयो ।

महिलालाई रोजगारमूलक र सीपमूलक जस्ता कार्यक्रम गाउँपालिकाबाट हुने गरेकामा वडा नं १ का महिलाले गरेको च्याउ खेती जस्ता काममा वडापालिकाले अनुदान दिने जस्ता कार्यक्रम समावेश गरिएको वडा नं १ का वडाध्यक्ष प्ररबहादुर रावतले बताउनुभयो । जुम्लाको गुठीचौर गाउँपालिकाले यहाँका किसनलाई नौ हजार स्याउका बिरुवा वितरण गरेको छ । गुठीचौर स्याउ खेतीका लागि राम्रो क्षेत्र मानिन्छ, चिस्यान, मलिलो माटो भएकाले पनि स्याउ खेती गुठीचौरमा स्याउ उत्पादनका लागि राम्रो क्षेत्र भएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । व्यावसायिक रुपमा स्याउ खेती गर्न चाहने गाउँपालिकाभरिका किसन, सहकारी, उद्यमी तथा समूहलाई नौ हजार स्याउका बिरुवा गाउँपालिकाले ७५ प्रतिशत अनुदान र २५ प्रतिशत समूहको लगानीमा किसानलाई बिरुवा वितरण गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । जुम्लीको जीवनस्तर सुधार गर्ने एकमात्र आयाम भनेकै स्याउ खेती हो । अन्य क्षेत्रलाई छोडेर स्याउ खेतीमा प्राथमिकता दिइएको उनले बताउनुभयो । चालु आवमा स्याउका बिरुवा खरिदका लागि तीन लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले बताउनुभयो । बिरुवा वितरणसँगै स्याउ खेतीबारे किसानलाई तालीमसमेत दिइएको छ ।

गुठीचौर गाउँपालिकाका कृषि संयोजक रत्नप्रसाद पाण्डेका अनुसार कति मिटर दूरीमा बिरुवा रोप्ने, पानी कतिबेला हाल्ने, बिरुवामा लाग्ने रोग नियन्त्रण कसरी गर्ने, खाल्डा कति गहिरा खन्ने र मलजललगायत बिरुवाको स्याहारसुसारका बारेमा यहाँका किसनलाई सीप सिकाइएको कृषि संयोजक पाण्डेले बताउनुभयो । गु्ठीचौमा करीब दुई हजार २५० घरधुरी छन् । ती सबैलाई केही वर्षभित्र स्याउ खेतीको पहुँचमा ल्याउने गाउँपालिकाको लक्ष्य छ । गत आर्थिक वर्षमा जुम्लामा स्याउ निर्यातबाट मात्रै ३४ करोड आम्दानी भएको थियो । ६ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । १९ हजार घरधुरीमध्ये करीब १६ हजार घरधुरी स्याउ खेतीमा लागेको कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्क छ । यहाँको स्याउ उत्पादनबाट बर्सेनि प्रतिघरमा रु पाँचदेखि सात लाखसम्म आम्दानी गर्छन् । जुम्लाका आठै स्थानीय तहको पाखो जग्गा स्याउ खेतीका योग्य छ । त्यसैले पनि जुम्लाका स्थानीय तहले स्याउ खेतीमा लगानी बढाएका छन् । बाँकी साढे तीन हजार घरधुरीलाई स्याउ खेतीको पहुँचमा ल्याउन स्थानीय सरकारले अनुदानमा किसानलाई स्याउका बिरुवा वितरण गरिहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij