नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सही विचार र सही नेतृत्व भएकै कारण असम्भव भनिएका कुराहरु सम्भव हुँदै गएको बताउनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सही नेतृत्व भएकै कारण कटुतापूर्ण र सत्रुतापूर्ण संघर्समा रहेका दुई मुख्य पार्टीहरुको एकता सम्भव भएको बताउनुभएको हो । उहाँले तत्कालिन माओवादीले सुरु गरेको जनयुद्धकै कारण देशमा संघीय लोकतान्त्रीक गणतन्त्र स्थापित हुन सकेको उल्लेख गर्दै भन्नुभयो ‘सही बिचार र सही नेतृत्वले ईतिहासमा ठुलोठुलो फड्कोहरु मार्न योगदान गर्न सक्छ सही विचार र सही नेतृत्वले असम्भव जस्ता ठानिएका परिवर्तनलाई पनि सम्भव तुल्याउन सक्छ किनभने केही वर्ष पहिले सम्म नेपालमा यति छिट्टै संविधान सभा भइहाल्ला संघीय लोकतान्त्रीक गणतन्त्र घोषणा गरीहाल्ला आपसमा निकै तितो र कटुतापूर्ण र कहीले काहिं सत्रुता पूर्ण संघर्षमा रहेका २ वटा मुख्य पार्टीहरु एकतामा आइपुग्लान र अनि चुनावमा दुई तिहाई बहुमत ल्याउने गरी प्रस्तुत होलान भन्ने केही वर्ष अगाडी सम्म मानिसले सोच्दैन थिए तर म भन्न चाहन्छु, विनम्रतापूर्वक भन्न चाहन्छु सही विचार र सही नेतृत्व छ भने ती असम्भव भनेका कुरालाई सम्भव बनाउन सकिन्छ, जनयुद्ध आफै सुरुका दिनहरुमा हेर्दा धेरैलाई विश्वास थिएन ।’अध्यक्ष दाहालले तत्कालिन समयमा माओवादी र एमालेबीच संविधान सभामा जाने भन्ने सहमति भएको र त्यसकै जगमा कांग्रेससँग पनि मिल्न पुगेको र सात राजनीतिक दलहरुसँग माओवादीले १२ बुँदे सम्झौता गर्न पुगेको बताउनुभयो । उहाँले देशमा एकातिर जनयुद्ध र अर्कोतिर शान्तिपूर्ण जनआन्दोलन एकसाथ सञ्चालन गर्न तत्कालिन ७ राजनीतिक दल र नेकपा माओवादीबीचमा भएको समझदारीबाट नै सम्भव भएको बताउनुभयो ।
उहाँले असाधारण र फरक किसिमबाट बनेको समझदारीबाट नै देशमा राजतन्त्रको समाप्ती र संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना गर्न सफल भएको समेत बताउनुभयो । अध्यक्ष दाहालले नेपाली कांग्रेसका तत्कालिन नेता दिवंगत गिरिजाप्रसाद कोइराला र आफुबिच राजधानीमा जनआन्दोलन बढ्दै थएका बेला दिनदिनै फोनमा कुरा भएको र त्यसबेला कोइरालाले अझ बढी फौजि आक्रमण बढाइदिन आग्रह गरेको खुलासा समेत गर्नुभयो । उहाँले भन्नुभयो ‘दुईवटा हाम्रो कम्युनिष्ट पार्टीको पहिला सहमति भएर हस्ताक्षर भइनै सकेको थियो हामी मिलेर अव संविधान सभातिर जाने भन्ने विषयमा नेपाली कांग्रेससँग पनि राखेर त्यही प्रकृयाबाट १२ बुँदे समझदारी भयो र नेपाली कांग्रेसको तत्कालिन नेता दिवंगत गिरिजाप्रसाद कोइराला र मेरो बीचमा झण्डै लगातार जस्तो दिनदिनै जस्तो फोनमा कुरा हुन्थ्यो र उहाँले अझै आक्रमण बढाउनु प¥यो भन्नु हुन्थ्यो मलाई फौजि आक्रमण अझ बढाईदिनु प¥यो भन्नुहुन्थ्यो अलि सदरमुकाम हान्न प¥यो अलि ठुलोठुलो आक्रमण गर्न प¥यो भन्नु हुन्थ्यो यो पनि विचित्र हो । यस्तो संसारमा कमै हुन्छ यही विचित्रको परिस्थीतिले नै नेपालमा ढाइसय वर्ष पुरानो शाह वंशिय राजतन्त्रको अवसान गर्ने वातावरण बन्यो र देश संघीय लोकतान्त्रीक गणतन्त्रमा आइपुग्यो । यही विचार प्रवृति हावी भएकै हुनाले एकता सम्भव भयो ।’अध्यक्ष दाहालले तत्कालिन समयमा नेतृत्वले सही निर्णय नगरेको भए देशमा ठुलो समस्या उत्पन्न हुनसक्ने खतरा रहेको बताउनुभयो । उहाँले विश्वमा अन्य मुलुकमा शान्ति प्रक्रिया पुरा हुन नसकेको र विद्रोहका प्रमुख नेता नै मारिएको उल्लेख गर्दै नेपालमा आफूहरु शौभाग्यशाली भएर नै सशस्त्र विद्रोहलाई शान्तिपूर्ण वातावरणमा ल्याउन सफल भएको बताउनुभयो । अध्यक्ष दाहालले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया सम्भव भएको र मुलुक समाजवादको आधार निर्माण तर्फ अघि बढेकोले अव जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने समेत बताउनुभयो कार्यक्रममा शहीदहरुप्रति श्रदान्जलि व्यक्त गरिएको थियो । कार्यक्रममा नेकपा उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतका नेताहरुको उपस्थिति थियो । कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने सहभागि हुनुभएन् । उहाँ सहभागि हुने बताइएपनि जानुभएन् । प्रधानमन्त्री ओली गत वर्ष फागुन एक गते आयोजना गरिएको कार्यक्रममा पनि सहभागी हुनुभएको थिएन् ।
