• Tuesday 8th of September 2026

चैते धान रोप्ने तयारी गर्दै किसान


  • आशाका किरण

यतिबेला भजनी क्षेत्रका किसानलाई चैते धानको ब्याड राख्ने चटारोले छोएको छ । बाढी र डुबानको उच्च जोखिममा रहेको भजनी नगरपालिका–३, ५, ७ र ८ का किसानले चैते धानबाट जीविकोपार्जन गर्दै आइरहेका छन् । वर्षातको समयमा काँढा, कन्द्रा, पथरैया, मोहना नदीमा आउने बाढी र डुबानले लगाएको धान बगाउने र डुबाउने हुँदा किसानले असोज–कात्तिकमा कमै मात्रामा धान भित्र्याउन पाउँछन् । डुबान क्षेत्रमा हिउँदे बालीका रूपमा किसानले मसुरो, तोरी, गहुँ लगाउने गरेको भए पनि केही ठाउँमा वर्षातको पानीको प्रभावले उत्पादनमा कमी आउने हुँदा खेती लगाउन जाँगर नचल्ने भजनी नगरपालिका–३ का किसान अमरबहादुर साउदले बताउनुभयो । “यस वर्षको घरपरिवार पाल्ने मुख्य आधार नै चैते धान हुनेछ । हिउँदे वर्षाले हिउँदे बाली भित्र्याउन पाइएन”, साउदले भन्नुभयो, “मौसमको अवस्था हेरी वर्षातमा पनि धान रोपिन्छ । तर भित्र्याउन पाइन्छ या पाइँदैन । त्यसको कुनै यकिन हुँदैन ।” उहाँले आफूसँग रहेको १३ कट्ठामा चैते धान रोप्ने तयारी गरेको बताउनुभयो ।

कृषक साउदले चैतमा लगाएको चैते धान बाढीको पानीले नडुबाए पुनः भदौमा काट्न मिल्ने बताउनुभयो । “हामी चैतमा रोपेको चैते धान असारमा काट्छौँ”, उहाँले भन्नुभयो, “त्यही धान मौसम राम्रो भए पुनः भदौमा काट्छौँ । एकपटक गरेको मेहनतको दुईपटक आम्दानी हुने हुँदा पनि चैते धान किसानको मुख्य आकर्षणमा रहेको छ ।” सोही ठाउँका कृषक चित्रबहादुर साउदले भजनीका किसानमा बाढीकै कारण चैते धानप्रतिको आकर्षण बढेको बताउनुभयो । “विगतका वर्षहरुभन्दा यो वर्ष अधिकांश किसानले चैते धानको तयारी गरिरहेका छन्”, साउदले भन्नुभयो, “हिउँदे बाली बढी वर्षा भएका कारण राम्रो हुन सकेन ।

किसानको लागतसमेत हिउँदे बालीबाट आउने अवस्था छैन । त्यसैले पनि किसान चैते धानको तयारीमा छन् ।” उहाँले वर्षातको समयमा पानी नपरेका कारण धान उत्पादनमा कमी आएको भन्दै परिवार पाल्नका लागि भए पनि किसानसँग चैते धानको विकल्प नभएको बताउनुभयो । “चैते धानको उत्पादन बर्खे धानको भन्दा पनि राम्रो हुन्छ । फेरि बर्खे धान लगाउने समयमा चैते धान काट्न मिलिहाल्छ”, साउदले भन्नुभयो, “किसानले एउटै ‘सिजन’मा दोहोरो फाइदा लिनसक्ने भएका कारण पनि चैते धानको आकर्षण बढ्दो छ ।” नगरपालिकाका कृषि शाखाप्रमुख कमल चौधरीले नगरपालिकाभित्रका बाढी प्रभावित क्षेत्रमा किसानले १० कट्ठादेखि तीन बिघासम्मको क्षेत्रफलमा चैते धान रोप्ने तयारी गरेको बताउनुभयो । उहाँले नगरपालिका–३ र ८ मा चैते धान नमूना गाउँ कार्यक्रम नै सञ्चालन गरिएको बताउनुभयो । “हामीले चैते धान नमूना कार्यक्रम सञ्चालनमा ल्याएका छौँ । यसबाट कृषकहरुलाई आवश्यक पर्ने कृषि उपकरण तथा बीउबिजनको व्यवस्थापन हुन्छ”, प्रमुख चौधरीले भन्नुभयो, “चालू आर्थिक वर्षबाट कार्यक्रम शुरु भएकाले यसलाई नगरपालिकाले पाइलट प्रोजेक्टका रूपमा लिएको छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij