• Tuesday 8th of September 2026

असिना पानीले बालीनाली नष्टः किसान चिन्तित


  • आशाका किरण

बागलुङमा सोमबार दिउँसोदेखि परेको असिना पानीले लाखौं मूल्य बराबरको अन्नबाली नष्ट गरेको छ । जिल्लाको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिकालगायत क्षेत्रमा परेको असिना पानीले हिउँदे बाली र मौसमी तरकारी खेतीमा ठूलो क्षति पुगेको किसानले बताएका छन् । लामो समयसम्म भारी असिना परेपछि सडक तथा खेतबारी असिनाले केही बेर ढपक्कै छोपेको थियो । असिनाले थिचेर खेतबारीमा भित्राउने बेलाको गहुँ, भर्खरै उम्रिँदै गरेका मकै, जौ, फापरलगायत अन्नबाली नष्ट गरेको काठेखोला गाउँपालिका—२ का किसान बिक्रम शर्माले बताउनुभयो । बागलुङ नगरपालिका—९ सिगानामा रहेको सुन्तला बगान र जैमिनी नगरका विभिन्न वडामा रहेको सुन्तला बगानमा समेत असिनाले थिचेर क्षति पुगेको जैमिनीका किसान भमि शर्माले बताउनुभयो । काँठखोला गाउँपालिका— २ र ३ वडामा सोमवार दिउँसो भीषण रुपमा परेको असिना पानीले माटोसमेत बगाएको थियो । असिना पानीले पाकेको अन्नबाली र तरकारी बाली पूर्णरुपमा नष्ट बनाएको किसान बताउँछन् ।

असिनापानीले किसानको बालीनालीमा ...

बागलुङमा अहिले हिउँदे बाली भित्राउने र मकै बाली लगाउने समय हो । “हिउँदमा लगाएको खेतीले खर्च समेत उठन दिएन्”, किसान शर्माले भन्नुभयो, “कुनै ठाउँमा २ फिटभन्दा बाक्लो असिना परेको छ, दिउल लागेका मकै समेत थिचेर सक्यो ।” हिउँ भन्दा बाक्लो परेको असिनाका कारण गाउँभरीका किसानको खेती नष्ट हुँदा लाखौं मूल्य बराबरको घाटा व्यहोर्नु पर्ने जैमिनी नगरपालिकाका कृषि प्राविधिक रविन्द्र शर्माले बताउनुभयो । “यता त असिना हिउँ भन्दा पनि बाक्लो छ”, उहाँले भन्नुभयो, “उम्रिँदै गरेको मकै र पोकेको गहुँ, जौ, फापर केही पनि काम नलाग्ने भएको छ ।” केही दिन यता हावाहुरीसहित परेको असिना पानी र चट्याङका कारण बागलुङ धेरै प्रभावित बनेको छ । पछिल्लो १५ दिन यता चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको जल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij