• Tuesday 8th of September 2026

लगातारको वर्षाले किसान दिक्क


  • आशाका किरण

वैशाख दोस्रो साताको प्रारम्भसँगै दिनदिनैजसो पानी परेपछि महोत्तरीका किसान खेतीपातीको काम गर्न नपाएर हैरान छन् । नयाँ वर्ष लागेयता पहिलोपटक वैशाख ८ गते असिनापानी परेर दिनहुँजसो पानी परिरहेपछि खेतीपातीको काम गर्न नपाएर किसानको छटपटी बढेको हो । पछिल्ला करिब दुई साताबीच (वैशाख–८ गतेदेखि हालसम्म) महोत्तरीका धेरैजसो भेगमा तीन पटक त असिनापानी परिसकेको छ । आज बिहान परेको पानीले त तरकारी बाली रहेका खेतबारी र नयाँ खेती लगाउनु पर्ने जग्गा हिलाम्य भएर खनजोत गर्न नपाइएको किसानको चिन्ता छ । यसबीचमै दुई÷तीन पटक आएको हुरीबतासले आँप र लिचीका फल बग्रेल्ती झारेपछि मन अड्याउने ठाउँ नै नपाएको सोझा किसान बताउँछन् । “खेतबारी हिलो भएर खनजोत गर्न पाइएको छैन, तरकारी बारीमा बढेको झार गोडमेल गर्न पाइएन” भङ्गाहा नगरपालिका–४ का किसान चन्देश्वर राय दनुवारले लामो सास फेर्दै भन्नुभयो, “घरमा भएको अन्नपात लकडाउनमा खाएर सकिँदै छ, नयाँ बाली लगाउन मौसमले साथ दिएन, अब के गरी जहान पाल्नेहोला ?”

वैशाख दोस्रो साताको प्रारम्भमै पहिलो पटक पानी पर्दा बन्जड (रुखो) खेतबारी खनजोत गर्न सहज भएको भनेर खुशी भएका किसान पानी परिरहेर काम गर्न नपाएपछि दिक्क बनेका हुन् । “लगातारको पानीले मकै रोप्न पनि दिएन, धान, कोदोको बीउ राख्न पनि पाइएको छैन”, बर्दिवास नगरपालिका–७ प्रेमनगरका किसान रामप्रित महतोले भन्नुभयो, “कोरोनासँगै प्रकृति पनि हाम्रो खेदो खन्न लागेजस्तो छ ।” हिले धानको बीउ राख्न पानी पर्याप्त नभएको र धुले राख्न खेतबारी गिलो भएको हुँदा नपाइएको किसानको चिन्ता छ । पछिल्लो करिब दुई साताबीच दुई÷तीन पटक हुरीबतास आएर फलपूmल झारेको, वैशाखी तरकारी बालीका बेला (लहरा) चुँडाएको र लगातारको वर्षाले नयाँ बाली लगाउन खेतबारी खनजोत गर्न नपाएपछि कामकाज नभएको जस्तै बनिएको किसान बताउँछन् । लगातारको वर्षाले गर्मी भने बढ्न दिएको छैन । यता मर्मतसम्भारको कामले गति नलिँदा जिल्लाका मुख्य सडक नै हिलाम्य भएका छन् । सामान्य वर्षाले नै जलेश्वर–बर्दिवास, भिठ्ठामोर–जलेश्वर–जनकपुर र जलेश्वर–सम्सी सडकमा सवारी आवागमन रोकिने गरेको छ । ढल निकासको प्रबन्ध नहुँदा ग्रामीण सडक हिँड्नै नहुने गरी भताभुङ्ग बनेको देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij