• Friday 24th of July 2026

केराले बजार पाएन


  • आशाका किरण

कोरोना भाइरसको जोखिम बढेपछि यस वर्ष कैलालीमा केरा खेती विस्तार गर्ने किसान न्यून देखिएका छन् । केरा खेतीका लागि पकेट क्षेत्रका रुपमा विकास हुँदै आएको टीकापुरमा यस वर्ष नयाँ केरा खेती गर्ने किसान घटेका हुन् । रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोगमा सञ्चालित फलपूmल तथा बगैँचा निर्माणका लागि यस वर्ष १२० हेक्टर क्षेत्रफलमा केरा खेती विस्तार गर्ने लक्ष्य थियो । आयोजनाको अनुदान सहयोग रहे पनि किसानका माग कम भएकाले ३१ हेक्टरमा मात्र केरा खेती विस्तार हुने भएको छ । कोरोना भाइरसको जोखिम रहेकाले यस वर्ष किसानले रुचि नदेखाएको बाली संरक्षण अधिकृत मिलन गैरेले बताउनुभयो । ‘‘लक्ष्यभन्दा ज्यादै न्यून क्षेत्रफलमा खेती विस्तार हुने भएको छ’’, बाली संरक्षण अधिकृत गैरे भन्नुहुन्छ, ‘‘लकडाउनका कारण केराले बजार पाएन, त्यसको असर नयाँ खेती विस्तारमा समेत परेको हो ।’’

खेती विस्तारका लागि सार्वजनिक सूचनानुसार ५२ जना किसानका माग परेका थिए जसमा मापदण्ड पुगेका २७ छनोट भए । यस्तै आयोजनाले ड्रिप इरिगेशन प्रविधिसहित १८ हेक्टरमा खेती गर्न आठ किसान छनोट गरी खेती विस्तार गरेको छ । केरा खेतीका लागि टिस्यु कल्चरको उन्नत जात रोप्न आयोजनाले बेर्नामा ५० प्रतिशत र उत्पादन बढाउनका लागि सूक्ष्म तत्वमा ७५ प्रतिशत अनुदान सहयोग गर्ने उहाँले बताउनुभयो । आयोजनाको सहयोगमा कमाण्ड क्षेत्रमा यस वर्ष १० हेक्टर क्षेत्रफलमा फलफूल अन्तर्गत आँप, कागती र लिची खेती कार्यक्रम सञ्चालन हुँदैछ । आयोजनाले फलफूल खेती गर्नेलाई अनुदान सहयोग दिनेछ । अनुदान सहयोग पाउने भए पनि किसानको न्यून माग आएको आयोजनाका प्राविधिक सहायक विश्वरुप जोशीले बताउनुभयो ।

‘‘आयोजनाको फलपूmल खेती विस्तार गर्ने योजना हो’’, प्राविधिक सहायक जोशीले भन्नुभयो, ‘‘फलपूmल खेती विस्तार गर्न माग कम आएकाले लक्ष्यअनुसार खेती विस्तारमा कमी आउने देखिएको छ ।’’ टीकापुरलगायत यस क्षेत्रमा अहिले आयोजनाको सहयोग तथा किसानको लगानीमा करीब ४८० हेक्टरमा केरा खेती भइरहेको छ । यहाँको केरा नेपालका सबैजसो जिल्लामा जान्छ । कैलाली केरा खेतीमा आत्मनिर्भर जिल्ला हो । यहाँ केरालाई खाद्य वस्तुका रुपमा प्रयोग गर्ने गरिन्छ । यहाँ एउटै किसानले एकदेखि सय बिघासम्म जमीनमा खेती गरेका छन् । पछिल्लो समय सिँचाइ आयोजना सञ्चालनमा आएपछि यहाँ केरा खेती गर्ने किसानले सहुलियत पाएका छन् । आयोजनाको सहयोगमा कृषिलाई पेशा बनाएर जीवन निर्वाह गर्नेको सङ्ख्यामा समेत वृृद्धि भएको छ । सिँचाइ आयोजनाले किसानका मागका आधारमा कृषितर्फका सबै खेतीमा लगानी गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij