• Tuesday 8th of September 2026

सामूहिक आलुखेतीमा आकर्षण


  • आशाका किरण

आँधीखोला गाउँपालिकाका किसान सामूहिक आलुखेतीमा जुटेका छन् । गाउँपालिकाले अनुदानमा आलुको बीउ र मल उपलब्ध गराएपछि आँधीखोला–१ का किसान सामूहिक आलुखेतीमा लागेका हुन् । गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले किसानलाई सामूहिक कृषि खेतीतर्फ आकर्षित गर्न अनुदानको व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कृषिमा आत्मनिर्भर नहुँदा सम्म समृद्धि आउँदैन, त्यसैले समृद्ध आँधीखोला निर्माण गर्ने अभियानअन्तर्गत किसानलाई माटो सुहाउँदो खेती लगाउन प्रोत्साहान गरेका छौं, यो सामूहिक आलुखेती पनि अभियानको एउटा पाटो हो । बाँझो जमिनमा किसानले गरेको मेहेनतले हामीलाई कृषि क्षेत्रमा काम गर्न थप उत्साहित बनाएको छ ।” लामो समयसम्म बाँझो रहेको ९० रोपनी जमिनमा भक्किम्ले, दत्तेलोटे र त्रिवेणीका ५४ घरपरिवारले सामूहिक खेती गरेका हुन् ।

किसानको खेतबारीमै गएर आवश्यक सल्लाह सुझावका साथै प्राविधिक कुराका बारेमा समेत जानकारी दिने गरेको कृषि शाखाका प्राविधिक सहायक विवेक आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “किसान निकै उत्साहित भएर सामूहिक खेतीमा लाग्नुभएको छ । हामी पनि बेला–बेलामा किसानको खेतबारीमै पुगेर आलु लगाउने तरिका यसको स्याहारसम्भारका साथै अन्य प्रविधिक कुरामा समेत जानकारी गराउने गरेका छाँै ।” स्थानीय ३३ वर्षीय युवा चुडामणि पौडेलले काठमाडौँमा होटल व्यावसाय गर्दै आए पनि अहिले गाउँमा आएर सामूहिक खेतीमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब युवाले नै कृषि क्षेत्रमा क्रान्ति गर्नुपर्छ भनेर लागेका छौँ, यो सामूहिक खेतीलाई विस्तार गरेर यस क्षेत्रलाई आलु पकेट क्षेत्रका रुपमा विस्तार गर्न सामूहिक खेती सहयोगी हुनेछ ।” अर्का ६५ वर्षीय कृषक टीकाराम पौडेल (नानीबा) ले सामूहिक खेतीले आफूहरुलाई उत्साहित बनाएको जानकारी दिनुभयो ।

उहाँले अहिले ढिलो लगाए पनि राम्रै भएकाले अर्को साल धेरै जमिनमा लगाउने योजनामा रहेको बताउनुभयो । आलुखेतीका लागि प्रख्यात रहेको भक्किम्ले, दत्तेलोटेका किसानले पछिल्लो समय आलु लगाउने काम छाडेका थिए । बन्दाबन्दी शुरु भएपछि अहिले पुनः शुरु गरेका छन् । युवाशक्तिको विदेशिने क्रम बढ्दै जानु र गाउँबाट शहरबजार जानेको सङ्ख्या बढेपछि करिब १५ वर्षदेखि रोकिएको आलुखेतीले अब भने निरन्तरता पाएको छ । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बीउबिजनसँगै कृषि प्राविधिकको व्यवस्था गरेपछि कृषक खेतीतर्फ आकर्षित भएका हुन् । माटोमा बढ्दै गएको अम्लीयपन हटाउनका लागि कृषि चुनका साथै गाउँपालिकाले चार हजार ५०० किलो आलुको बीउ उपलब्ध गराएपछि डहरे देउराली प्रगतिशील युवा कृषक समूहलगायत गाउँका कृषक मिलेर बर्खे आलु लगाएका हुन् । गाउँपालिकाले किसानका लागि आवश्यक प्राविधिकदेखि लिएर अन्य कृषिका लागि अनुदानको व्यवस्था गर्ने जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij