• Tuesday 8th of September 2026

बाहिरी जिल्लाको तरकारी आयातमा रोक


  • आशाका किरण

स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दै बागलुङमा बाहिरी जिल्ला र विदेशबाट आयात गरिने तरकारी तथा फलफूलमा रोक लगाइएको छ । शनिबार बागलुङका फलफूल तथा तरकारी व्यवसायी र बागलुङ नगरपालिकाबीच भएको छलफलमा लकडाउन अवधिभर बाहिरी जिल्लाबाट आउने तरकारी तथा विदेशबाट आउने फलफूलमा रोक लगाउने सहमति भएको हो । कोरोना सङ्क्रमण त्रासका कारण जेठको पहिलो सातादेखि दुवै पक्षबीच भएको सहमतिका आधारमा बागलुङमा फलफूलको आयातमा रोक लगाइएको थियो । व्यवसायीको गुनासो आएपछि बागलुङ नगरपालिकाले विकल्पमा छलफल गरेको थियो । जिल्लामै पर्याप्त तरकारी उत्पादन हुने भएकाले बाहिरी जिल्लाको आवश्यक नरहेको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।

“हामीकहाँ तरकारी पर्याप्त छ, बाहिरबाट आउने तरकारीको विषादी जाँच गर्ने अवस्थामा हामी छैनौँ”, उहाँले भन्नुभयो, “यहाँको उत्पादनलाई प्राथमिकता दिँदा किसानलाई प्रोत्साहन हुन्छ, विषादीको त्रास कम हुन्छ ।” बैठकले फलफूल आयात गर्दा पूर्ण सुरक्षित तरिकाले ल्याउने र सकभर जिल्लाभित्रकै र नभए पनि छिमेकी जिल्लालाई प्राथमिता दिने निर्णय गरेको छ । बैठकले तरकारी तथा फलफूल बिक्री वितरणका लागि यसअघि तोकिएको समयावधि समेत बढाएको छ । बिहान ७ देखि १० र साँझ ४ देखि आठ बजेसम्म पसल खोल्ने सहमति गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij