• Tuesday 8th of September 2026

फौजी किराले मकैबाली सखाप


  • आशाका किरण

—राजेन्द्रप्रसाद पनेरु कञ्चनपुरको महाकाली नगरपालिकाका किसानले लगाएको मकै फौजी किराले सखाप पारेको छ । मुख्य खाद्यबाली मकै फौजी किराले सखाप पार्दा किसान चिन्तित बनेका छन् । नगरपालिकाको १५० भन्दा बढी किसानले खेतमा लगाएको मकैबाली अमेरिकन फौजी किराले खाएर सखाप पारेको किसानले बताएका छन् । मकैबालीबाट गतिलो आम्दानी गर्दै आएका यहाँका किसानले लगाएको मकैबाली फौजी किराले खाएर नोक्सानी गर्न थालेपछि उनीहरु निकै चिन्तित भएका छन् । मकैको पातसँगै घोगासमेत फौजी किराले खाएर नोक्सानी गरेको छ । गत वर्ष नगरपालिकाको वडा नं ५ चाँदनीका किसान पान्नु भण्डारीले घाँस प्रयोजनका लागि लगाएको मकैबालीमा पहिलोपटक फौजी किरा देखा परेको थियो ।

किसान भण्डारीले किराले एकै रातमा मकै बालीमा व्यापक नोक्सानी गरेको जानकारी दिएपछि कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्ट र बाली संरक्षण प्रयोगशाला सुन्दरपुरका प्राविधिक सत्यराज जोशीसहितको टोलीले किसानको मकैबालीमा फौजी किरा भएको पुष्टि गरेका थिए । प्राविधिकको सल्लाहअनुसार मकैमा विषादी छर्केपछि किरा नियन्त्रणमा आएको थियो महाकाली नगरपालिका कृषि शाखाका प्रमुख कमलापती भट्टले भन्नुभयो, “त्यसबेला किरा पूर्णरुपमा नियन्त्रण भएको ठानेका थियौँ । थोरै ठाउँमा देखापरेको किरा हाल पूरै नगरपालिका क्षेत्रमा देखा परेको छ ।” उहाँका अनुसार फौजी किराले नगरपालिकाको वडा नं ६, ७, ८, ९ मा सबैभन्दा बढी नोक्सानी गरेको छ । त्यसपछि वडा नं ३ र ५ मासमेत क्षति गर्न थालेको छ । वडा नं १ र २ मा भने सो किराको हाल प्रकोप देखिएको छैन । मुख्य खाद्यान्नका रूपमा लगाएको मकैमा रातारात फौजी किराको प्रकोप बढेपछि किसान निरास छन् ।

किराको प्रकोपले एकपछि अर्को गर्दै बाली सखाप पार्न थालेपछि किसानलाई खाद्यान्न अभावको चिन्ताले सताएको हो । लकडाउनले किटनाशक औषधि लिनसमेत समस्या भएपछि किसान झन् समस्यामा छन् । मकैबाली यहाँको मुख्य खाद्यबाली भए पनि फौजी किराको प्रकोपले यसको उत्पादनमा असर पार्ने प्रमुख भट्टको भनाइ छ । नगरपालिकामा बलौटे दोमट माटो भएकाले मकैबाली निकै सप्रने भएकाले यहाँका अधिकांश किसानले मकैबाली लगाउने गरेका छन् । नगरपालिका क्षेत्रका फौजी किराले मकैबालीमा नोक्सानी गरेका १५० किसानलाई इमिडाक्लोरोपिड नामक विषादी निःशुल्करुपमा कृषि शाखाबाट छर्कनका लागि दिँदासमेत किरा नियन्त्रण हुन नसकेको कृषि शाखा प्रमुख भट्टले बताउनुभयो । “सबै किसानले यहाँबाट लगेको विषादी मकैबारीमा छर्केका छन्”, उहाँले भन्नुभयो, “केही हदसम्म नियन्त्रण भए पनि पूरै नियन्त्रण हुन सकेको छैन ।” उहाँका अनुसार फौजी किराले छिटो छिटो बसाइँ सर्ने भएकाले यसलाई नियन्त्रण गर्न निकै चुनौती देखिएको छ ।

नगरपालिकाको खेती हुने जग्गामध्ये १५० हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको छ । प्रतिहेक्टर २५ क्विन्टलभन्दा बढी मकैको उत्पादन हुने गरेको छ । फौजी किराले हालसम्म झण्डै रु १० लाखदेखि रु १५ लाखसम्मको क्षति पु¥याएको कृषि शाखाका प्रमुख भट्टको भनाइ छ । कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टका अनुसार महाकाली नगरपालिकामा फौजी किराले मकैबालीमा व्यापक नोक्सानी गरेको भए पनि जिल्लाका अन्य क्षेत्रमा समेत फौजी किराको प्रकोप देखिन थालेको छ । फौजी किराको प्रवेश जिल्लामा भइसकेकाले किसानले चनाखो हुनुपर्ने बताउनुभयो । फौजी किरा नियन्त्रणका लागि किसानलाई विषादी छर्कने र निदानका उपायबारे सल्लाह सुझाव दिने कार्य भइरहेको उहाँले बताउनुभयो ।

“बेलाबेलामा मकैलगायतका बालीको निरीक्षण गरी फौजी किरा लागे नलागेको यकिन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “फौजी किरा लागेको थाहा पाउनेबित्तिकै स्थानीय तहका कृषि शाखा वा ज्ञान केन्द्रमा जानकारी गराई सल्लाह सुझाव लिएर किरा नियन्त्रण गर्नुपर्छ । फौजी किराले एकैपटक धेरै क्षेत्रफलमा लगाएको बालीमा नोक्सानी गर्ने भएकाले यसको निदान गर्न आवश्यक भएको छ ।” गत वर्ष सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनालयले फौजी किराको प्रकोपबाट बाली बचाउन र पहिचान गर्नका लागि निर्देशनालयका निर्देशकको संयोजकत्वमा १३ सदस्यीय टास्क फोर्स गठन गरिएको थियो । सोही बैठकले मातहतका कृषि ज्ञान केन्द्रलाई समेत टास्क फोर्स गठन गर्न निर्देशन दिएको थियो । टास्क फोर्स गठन भए पनि फौजी किरा नियन्त्रणका लागि भने भरपर्दो प्रयास नगरिएको गुनासो किसानको छ । फौजी किरा पुतली वर्गको रात्रिचर किराका रुपमा रहेको छ ।

फौजी किराको लार्भाले मकै, उखु र तरकारी बालीलगायत ३५३ बालीमा नोक्सानी पु-याउने गर्छ । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा भारत हुँदै नेपाल छिरेको बताइन्छ । नवलपरासीको गैँडाकोटमा यो किरा पहिलोपटक देखापरेको थियो । फौजी किराको बयस्क पुतली एक दिनमा १०० किलोमिटर र जीवनमा दुई हजार किलोमिटरसम्म खानाको खोजीमा उडेर जान सक्ने एक अध्ययनले देखाएको छ । यो किराको प्रकोप नेपालसहित ४० भन्दा बढी देशमा फैलिएको बताइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij