• Tuesday 8th of September 2026

थाहामा तीन लाख लिटर दूध उत्पादन


  • आशाका किरण

आर्थिक वर्ष २०७६÷७७ मा मकवानपुरको थाहा नगरपालिकामा दुई लाख ९३ हजार लिटर दूध उत्पादन भएको छ । नगरपालिकाभित्र पकेट क्षेत्रमा रहेका पशुपालक कृषकले डेरी तथा दूध सङ्कलन केन्द्रमा बिक्री गरेको दूध परिमाणका आधारमा नगरपालिका पशुसेवा शाखाले यो तथ्याङ्क सार्वजनिक गरेको हो । नगरका घर्तीखोला, फाँटबजार, थाना बजार, ओखर बजार र बज्रबाराही क्षेत्रका ३०६ कृषकले पालेको गाईभैँसीबाट दुई लाख ९३ हजार ७२ लिटर दूध उत्पादन भएको थाहा नगर पशु सेवा शाखामा प्रमुख राघवेन्द्र मिश्रले बताउनुभयो । शाखा प्रमुख मिश्रका अनुसार थाहा –२ को एकीकृत कृषि सहकारी संस्था लिमिटेडले चार स्थानमा स्थापना गरेको दूध सङ्कलन केन्द्रमा गरी ९७ कृषकले एक लाख १६ हजार ६४२ लिटर दूध बिक्री गरेका थिए ।

त्यसैगरी थाहा–६ बज्रवाराहीकोे पशुपालन कृषक समूहले १०६ कृषकबाट ९५ हजार ९६९ लिटर र निजी क्षेत्रबाट सञ्चालित नन्दीकेश्वर डेरीले १०३ कृषकबाट एक लाख ४६१ लिटर दूध सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो । बेमौसमी तरकारी खेतीका लागि देशमै ख्याति कमाएको थाहा नगरपालिकामा केही वर्षदेखि दूधका लागि व्यावसायिक पशुपालनमा जोड दिन थालिएको छ । दूध उत्पादनमा कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले ३०६ कृषकलाई रु चार लाख ९५ हजार अनुदानसमेत प्रदान गरेको छ ।

कृषकले बिक्री गरेको दूध परिमाणका आधारमा प्रतिलिटर रु एकदेखि तीन र पैसा २५ सम्म अनुदान उपलब्ध गराएको पशु सेवा शाखाका प्राविधिक रुपेशकुमार मिश्रले बताउनुभयो । नगरपालिकाले नगरमा सबैभन्दा बढी दूध उत्पादन गर्ने किसानलाई सम्मानसमेत गरेको छ । सम्मानित हुनेमा थाहा–३ का युवराज बर्तौला तथा थाहा–६ का यशोदा अधिकारी र ओमकुमार सुवेदी रहनुभएको छ । त्यस्तै नगरपालिकाले आफ्नो सेवा क्षेत्रबाट सबैभन्दा बढी दूध सङ्कलन गर्ने नन्दीकेश्वर डेरीलाई नगदसहित सम्मान गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij