• Tuesday 8th of September 2026

राजस्व सङ्कलन


  • आशाका किरण

गत आर्थिक वर्ष २०७६÷७७ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले ५२ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक तथा साधनलाई गरिएको कारवाहीबाट ५२ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख कर्णबहादुर चुनाराले बताउनुभयो । ट्राफिक प्रमुख चुनाराका अनुसार सबैभन्दा धेरै ट्र्याक्टर र मोटरसाइकल कारवाहीबाट २६ लाख २३ हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।

तीन हजार ९६६ ट्र्याक्टर र मोटरसाइकल कारवाहीमा पर्दा २६ लाख २३ हजार पाँच सय, एक हजार ८२४ जीप, कार, भ्यानबाट ११ लाख ६३ हजार पाँच सय, एक हजार २७१ बसबाट आठ लाख ४० हजार र ९३१ ट्रकबाट पाँच लाख ८८ हजार पाँच सय गरी सात हजार ९९२ सवारीसाधन कारवाहीमा पर्दा उक्त राजस्व सङ्कलन भएको हो । आव २०७५÷७६ मा ट्राफिक प्रहरीले ७२ लाख ६८ हजार राजस्व सङ्कलन गरेको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा कोभिड–१९ को बन्दाबन्दीका कारण राजस्व सङ्कलनमा करीब २९ प्रतिशतले कमी भएको ट्राफिक प्रमुख चुनाराले बताउनुभयो ।

गत आर्थिक वर्षमा स्याङ्जामा भएका १५ वटा सवारी दुर्घटनामा चार पुरुष, तीन महिला र दुई बालबालिका गरी नौ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीले जनाएको छ । “सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी, गाडी चालक र स्वयं यात्रुहरु पनि सचेत हुनु जरुरी छ”, प्रमुख चुनाराले भन्नुभयो, “सबै पक्षले ट्राफिक नियम पालना गरेमा मात्रै दुर्घटना न्यूनीकरण गर्न महत्वपूर्ण उपलब्धि हुनेछ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij