• Tuesday 8th of September 2026

धान फल्ने खेतमा ‘ड्रागन’


  • आशाका किरण

गतवर्ष अष्ट्रेलिया घुम्न जाँदा हरि गौतमले पहिलोपटक ‘ड्रागन’ फलको स्वाद चाख्नुभयो । घर फर्केपछि पनि उहाँलाई गुलियो, रसिलो ‘ड्रागन’ फलको झल्को लाइरह्यो । गलकोट नगरपालिका–७ मल्मका गौतमले गाउँमै उक्त फल लगाउने सोच बनाउनुभयो । अहिले उहाँको खेतमा ‘ड्रागन’ फलका सय बोट हुर्किरहेका छन् । पहिलोपटकको खेती परीक्षण जस्तो हुने उहाँको भनाइ छ । “अष्ट्रेलिया गएका बेला चाख्ने र योबारे बुझ्ने मौका पाएँ”, उहाँले भन्नुभयो, “चितवन, काठमाडौँलगायतका ठाउँमा उत्पादन भइरहेको थाहा पाएपछि हाम्रो ठाउँमा पनि सम्भावना देखेर खेती शुरु गरेको हुँ ।” पाँच मुरी धान फल्ने खेतमा गौतमले उक्त फल लगाउनुभएको छ ।

चितवनबाट महँगोमा बिरुवा ल्याएर उहाँले खेती थाल्नुभएको हो । “बिरुवा बढी नै ल्याएको थिए, गाउँका अन्य किसानले पनि खेती गर्ने भनेर लानुभएको छ”, उहाँले भन्नुभयो । गौतमले रातो फल दिने ‘ड्रागन’को बिरुवा लगाउनुभएको हो । एउटा बिरुवाको मूल्य रु २५० परेको छ । ‘ड्रागन’ फल गाउँठाउँमा नयाँ पनि भएकाले खेती गर्ने उत्सुकता जन्मिएको उहाँको भनाइ छ । खेती सफल भएमा ठूलो क्षेत्रमा विस्तार गर्ने उहाँको योजना छ । खेती लगाउँदा अनुभवी किसान र जानकारसँग सल्लाह लिएको गौतमले बताउनुभयो । ४६ वटा ‘पिलर’ बनाएर ‘ड्रागन’को बिरुवा लगाइएको छ ।

“अहिले थोरै बिरुवाबाट खेती शुरु गरेको छु, राम्रो भयो भने बढाउँदै जान्छु”, उहाँले भन्नुभयो । गलकोट नगरपालिका, कृषि शाखाका प्रमुख हरिदत्त सुवेदीले ‘ड्रागन’ फलको खेती जिल्लाकै लागि नौलो भएको बताउनुभयो । “हामीले पनि यसका बारेमा धेरै ज्ञान, जानकारी लिन पाएका छैनौँ”, उहाँले भन्नुभयो, “केही ठाउँमा किसानले आफ्नै पहलमा खेती शुरु गर्नुभएको छ, यसले हाम्रो क्षेत्रमा सम्भावना छ, छैन भनेर देखाउनेछ ।” खेती सफल भएमा र व्यावसायिक रुपमा उपयुक्त देखिएमा कृषि क्षेत्रका प्राविधिक, अगुवा किसानलगायतलाई त्यस सम्बन्धी तालीम दिनुपर्ने उहाँको भनाइ छ । ‘ड्रागन’ फल स्वादिष्ट र स्वास्थ्यवद्र्धक मानिन्छ ।

यो सिउँडी प्रजातिको फल हो । ‘ड्रागन’ फल नेपालमा प्रतिकिलो सात÷आठ सय रुपैयाँमा बिक्री हुने गरेको छ । बिरुवा लगाएको दुई वर्षमा फल दिन शुरु गर्ने गौतमले बताउनुभयो । फूल खेलेको महिना दिनभित्रमा खानका लागि फल तयार हुन्छ । तराईदेखि उच्च पहाडी भागसम्म ‘ड्रागन’ फलको खेती हुन्छ । तीन हजार मिटर उचाईसम्ममा खेती गर्न सकिने बताइन्छ । एउटा बोटको आयु २० देखि २५ वर्षसम्मको हुने विज्ञहरु बताउँछन् । सन् २००२ मा भियतनामबाट यो फल भित्रिएको मानिन्छ । पूर्वशिक्षकसमेत रहनुभएका गौतमले ‘ड्रागन’सँगै ‘एभोकाडो’, स्याउ, आँप, कागतीलगायत फलफूलको खेती गर्नुभएको छ । “निर्वाहमुखी कृषिको सट्टा व्यावसायिक खेतीमा लाग्ने प्रयास गरेको छु, हेरौँ कत्तिको सफल भइन्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij