• Friday 24th of July 2026

किसानले पाए प्रतिफलमा आधारित प्रोत्साहन रकम


  • आशाका किरण

चितवनका किसानले प्रतिफलमा आधारित प्रोत्साहन रकम पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले केराखेतीमा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान रकम हस्तान्तरण गरेको हो । मङ्गलबार कालिका र रत्ननगर नगरपालिकामा कार्यक्रम गरी १६६ किसानलाई प्रोत्साहन अनुदान रकम उपलब्ध गराइएको कार्यालयका कृषि अधिकृत इन्द्रशर्मा ढुङ्गानाले जानकारी दिनुभयो । प्रतिहेक्टर रु छ हजारका दरले भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी र कालिका नगरपालिकाका किसानलाई रु ३५ लाख ३२८ रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

विगतमा गरिएको खेतीका आधारमा किसानलाई रकम उपलब्ध गराइएको हो । लाभान्वित समूहबाट ६६, सहकारीबाट ५४ र उद्यमीबाट ४६ किसानले अनुदान रकम प्राप्त गरेका छन् । केराखेती गर्ने किसानलाई प्रतिफलका आधारमा अनुदान गर्ने योजना रहेको परियोजनाका कार्यान्वयन प्रमुख तथा वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले किसानलाई व्यावसायिकरूपमा केराखेतीमा लाग्न आग्रहसमेत गर्नुभयो । “पछिल्लो समय किसानको आकर्षण बढ्दो छ”, उहाँले भन्नुभयो, “किसानलाई स्थापित हुने खालका कार्यक्रम परियोजनामार्फत ल्याएका छौँ ।”

सो अवसरमा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले केरा व्यवसायीले गरेको मेहनतको फलस्वरुप अनुदान रकम हस्तान्तरण गर्न पाउँदा खुशी भएको बताउनुभयो । नगरपालिकाले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले अझै केराको विस्तार गर्दै जान किसानलाई आग्रह गर्नुभयो । खेतीयोग्य जमीनको संरक्षण गर्दै कृषि उत्पादन बढाउन नगरपालिकाले ध्यान केन्द्रित गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij