• Wednesday 9th of September 2026

अफगानिस्तानका घाज्नीमा बम हमला, सात जनाको मृत्यु


  • आशाका किरण
Afghan security forces gather at the site of a powerful truck bomb attack a day after it detonated near a foreign compound in Kabul on January 15, 2019. - The Taliban on January 15 claimed responsibility for a powerful truck bomb attack in Kabul that ripped through surrounding neighbourhoods, killing at least four people and wounding more than 100, in the latest assault on the Afghan capital. (Photo by WAKIL KOHSAR / AFP)

घाज्नी, २५ साउन (रासस–सिन्ह्वा) –– अफगानिस्तानको घाज्नी प्रान्तमा शनिबार प्रहरी चौकीलाई लक्षित गरी भएको कार बम बिस्फोटमा सात जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता तारेक एरियनका अनुसार सशस्त्र विद्रोहीहरुले बिस्फोटक पदार्थले भरिएको कार घाज्नी शहरको बाहिरी इलाकामा रहेको कोटाल रावा प्रहरी चौकीमा साँझ ७.४५ बजे बिस्फोट गराएका थिए । प्रवक्ता तारेकले उक्त घटनाको अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

प्रान्तीय सरकारका प्रवक्ता वाहिदुल्लाह जुमाजादाले पनि घटनाको पुष्टि गर्दै आक्रमणकारीहरु प्रहरी चौकीभित्र प्रवेश गर्न खोजेका तर प्रहरीको प्रतिकारले उनीहरुको त्यो प्रयास सफल हुन नपाएको बताउनुभयो । उक्त आक्रमणको घटना ४०० जना विवादास्पद तालिबान बन्दीका विषयमा निर्णय गर्न लोया जिर्गा अर्थात समाजका ज्येष्ठ एवं प्रबुद्ध वर्गको बैठक बसिरहेका समयमा भएको छ । लोया जिर्गा बैठकमा अफगानिस्तानका विभिन्न भागबाट आएका तीन हजारभन्दा बढी सदस्यको सहभागिता छ । घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार १०० लडाकूलाई जेलमुक्त गरिसकेको छ ।

तर तालिबानले जेलमा अझै बन्दी अवस्थामा रहेका ४०० लडाकूलाई तत्काल रिहाई गर्नुपर्ने माग गर्दै आएको छ । सरकारको भनाईमा यी लडाकू ट्रक बम आक्रमण, अपहरण र नागरिक हत्याका आरोपी हुन् । सरकार र विद्रोही तालिबानबीच लडाकूको रिहाईसँगै अन्तर–अफगान संवाद हुने र वर्षौंदेखिको गृहयुद्ध समाप्त हुने अपेक्षा गरिएको छ । यसैबीच, लोया जिर्गाले अफगानी जेलमा बन्दी ४०० लडाकूलाई मुक्त गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij