• Tuesday 8th of September 2026

व्यावासयिक पशुपक्षीपालन फस्टाउँदै


  • आशाका किरण

बागलुङ, ३१ साउन (रासस) : पशुपक्षीजन्य व्यवसायबाट ताराखोला गाउँपालिकाका किसानले वार्षिक करोडौँ रुपैयाँ भित्राएका छन् । गाउँपालिकाको आँकडाअनुसार गत आवमा पशुपक्षीपालनबाट रु दुई करोड २४ लाख ४३ हजार आम्दानी भएको छ । पशुपक्षीको व्यावसायिकपालन बढेकाले यो वर्ष आम्दानी थप बढ्ने अनुमान छ । भैँसी, बाख्रा, भेडापालन र कृषितर्फ आलुमा गाउँपालिका आत्मनिर्भर छ । गत वर्ष भैँसी, राँगा र पाडापाडीको बेचबिखनबाट रु ९२ लाख ४५ हजार ६६० आम्दानी भएको छ । यस्तै बाख्रापालनबाट रु ७२ लाख ५१ हजार ६५९ र गाई÷गोरुको बिक्रीबाट रु चार लाख ९५ हजार ४०० आम्दानी भएको गाउँपालिकाको पशुशाखाले जनाएको छ ।

सोही वर्ष रु आठ लाख ७८ हजार १५० को घ्यू र रु ८० हजार ७६० को दूध बिक्री भएको शाखाका पशु स्वास्थ्य प्राविधिक चिन्तामणि शर्माले बताउनुभयो । गाउँपालिकाभित्र दुई हजार ५०० बढी भैँसी, राँगा २७१, पाडापाडी एक हजार ५२९, सात हजार बढी बाख्रा, ३४० भेडा, १२ हजार कुखुरा र १४२ बङ्गुर छन् । खसीबाट मात्रै रु ५२ लाख ६० हजार ४६० बराबरको कारोवार भएको छ । पक्षीतर्फ सबैभन्दा बढी लेयर्स जातको कुखुरापालनबाट रु नौ लाख ७० हजार ६५० आम्दानी भएको छ । ब्रोइलर कुखुराले रु दुई लाख २८ हजार ४५० कमाइ दिएको छ । यस्तै रु १८ लाखको माछा बिक्री भएको छ । व्यवसायीले रेम्बो ट्राउट जातको माछापालन पनि गरिरहेका छन् ।

वडा नं. ४ छम्टुमा झण्डै रु ५० लाखको लगानीमा दुई वर्षअघि माछापालन थालिएको थियो । कृषि र पशुपालनमा प्रचुर सम्भावना बोकेको ताराखोलाका किसान विस्तारै व्यावसायिक हुन थालेका छन् । केही वर्षअघिसम्म कृषि र पशुजन्य उपज घरायसी प्रयोग र अ‍ैँचोपैँचोमा सीमित थियो । गाउँपालिकाले किसानलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्न अनुदान, तालिमलगायत प्रोत्साहनका कार्यक्रम ल्याएको छ । “गाउँटोलमै पुगेर किसानलाई भेट्दा तालीम, प्राविधिक सहयोग चाहियो भन्ने माग बढी छ”, गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भन्नुभयो, “यो वर्ष पनि स्थानीय जातको भैँसी संरक्षणका लागि रु सात लाख बजेट छ, गोठ, भकारो सुधारमा पनि सघाउँछौँ ।”

सङ्घीय सरकारको रु ७५ लाख र गाउँपालिकाको रु ३७ लाख गरी कूल रु एक करोड १२ लाखको बजेटमा यो वर्ष पाँचवटै वडामा नमूना कृषि ‘फार्म’ सञ्चालन गरिने अध्यक्ष घर्तीले बताउनुभयो । उहाँका अनुसार कोरोनाले निम्ताएको बन्दाबन्दीपछि व्यावसायिक उत्पादनतर्फ किसानको आकर्षण बढ्दो छ । ताराखोला स्थानीय उत्पादनका दृष्टिले अगाडि छ । त्यहाँको मुख्य कृषि बाली आलु र भाँगो हो । तीन हजार ६६४ रोपनी क्षेत्रफलमा आलु खेती हुन्छ । वार्षिक झण्डै ७१५ मेट्रिक टन आलु फल्ने गर्छ ।

जसमध्ये ४१० मेट्रिक टनजति बिक्री हुन्छ भने बाँकी घरमै खपत हुन्छ । आलुबाट पनि वार्षिक करोडौँ रुपैयाँ गाउँ भित्रन्छ । ताराखोलाबाट आलु, भाँगो, नेपाली हाते कागज, अल्लोका कपडा, जडीबुटी, ‘स्लेट ढुङ्गा’, काठलगायतका स्थानीय उत्पादन निर्यात हुन्छ । स्थानीय उत्पादनको बजारीकरणका लागि गाउँपालिकामा ‘कोशेली घर’ समेत निर्माण हुँदैछ । ‘समृद्ध ताराखोला’ को लक्ष्यसहित गाउँपालिकाले पञ्चवर्षीय योजनामार्फत विकासका काम अगाडि बढाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij