• Friday 24th of July 2026

वर्षे धानबालीको रोपाइँ सम्पन्न


  • आशाका किरण

वाग्मती प्रदेशका १३ जिल्लामा अहिले स्थानीय किसानले आ–आफनो खेतमा वर्षे धान बालीको लागि रोपाइँ सम्पन्न गरेको प्रदेश कृषि विकास निर्देशनालय हेटौँडाले जनाएको छ । प्रदेशको १३ जिल्लामा वर्षे धानबाली लगाउन कूल एक लाख, १८ हजार ७४ हेक्टर जग्गामा उन्नत जातको धानबाली लगाउने लक्ष्य अनुसार किसानले आफ्नो खेतमा धान रोपाइँ गरेको प्रदेश कृषि विकास निर्देशनालयका कृषिविज्ञ रामहरि तिमल्सिनाले बताउनुभएको छ । उहाँका अनुसार प्रदेशको विभिन्न जिल्लाको मौसमअनुरुप उन्नत जातको धानको बीउ मकवानपुर–१, राधा–४ सावित्री, मन्सुली, कलमसार तथा हाइब्रिड ३१२ र ३१४ लगायतका धानको बीउलाई किसानले रोपाइँ गर्ने गरेका छन् ।

यसैगरी मकवानपुर जिल्लाको आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका विभिन्न वडामा उन्नत जातको धानको बीउको रोपाइँ गर्ने कार्य पनि सम्पन्न भएको कृषि विकास ज्ञान केन्द्र हेटौँडाले जनाएको छ । मकवानपुरमा १० हजार ४०० हेक्टर जग्गामा किसानले बर्षे धानखेती लगाएको कृषि विकास ज्ञान केन्द्रका प्राविधिक रवीन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij