• Friday 24th of July 2026

‘ज्यान जोगाउन सके फेरि छमछम नाचौँला’


  • आशाका किरण

लाउन्नँ म त्यो जापानी सारी, टेबुलमा काइँयो र ऐना छ बस्न प¥यो मन मारी मारी, सोचे झैँ रहिनछ जिन्दगी (गायक खेम क्षेत्री र मधु क्षेत्री ) यतिबेला धेरै दिदीबहिनी घरमै बसेर नाचिरहेका छन् । हिन्दू महिलाले भव्य रुपमा मनाउने तीज पर्व यस वर्ष कोरोनाका कारण साँच्चै नसोचेको भइदियो । महिना दिनअघि तीजेगीत घन्काउँदै रातो साडीमा छमछम नाच्दै सङ्गीतमय बन्ने वातावरण अहिले भने घरभित्र सीमित भएको छ । पोखरा –८ न्यूरोडका कस्मेटिक पसल सञ्चालक सन्तु पौडेलले बिहे गरेको १८ वर्षमा पहिलो चोटि माइती जान नपाएकामा नरमाइलो लागेको बताउनुभयो ।

“मेरो माइती स्याङ्जा हो, सधैँ छोराछोरीसहित दर खाने दिनको अघिल्लो दिन माइत पुग्थेँ ,७० वर्ष पुगेकी आमा नातिनातिनाका साथ देख्दा आमा खुशी हुनुहुन्थ्यो, अहिले फोनबाट कुराकानी गरेर कोरोनाका कारण आउन नपाएको जानकारी गराएँ, आमाले नरमाइलो मान्नुभयो, बूढी भएकी आमाको काखमा तीजको दर खाएर मनाउने धोको यसपालि अधुरो भयो, आगुम के हुन्छ कुन्नि ?” उहाँ अहिले घरभित्रै सोचे झैंँ रहिनछ जिन्दगी भन्दै गीत घन्काएर नाच्दै हुनुहुन्छ । उहाँले कोरोना जित्ने सके अर्को वर्ष माइतीको आँगनमा पुग्ने रहर पूरा हुने विश्वास व्यक्त गर्नुभयो । लोकगायिका हरिदेवी कोइराला यस वर्षको तीज पर्व दिदीबहिनी जमघटविहीन भएको बताउनुहुन्छ । उहाँ सम्झनुहुन्छ, “अघिका वर्षहरुमा महिना दिनअघिदेखि नै तीज विशेष कार्यक्रमका निम्ता हुन्थे, एकै दिन चारपाँच वटा कार्यक्रममा भ्याइनभ्याइ हुन्थ्यो तर यस वर्ष कोरोनाका कारण सुनसान भयो ।

घरभित्रै आफन्त, इष्टमित्रबाट पनि भौतिक दूरी कायम गरेर बस्नुपर्ने अवस्था आयो ।” उहाँले यस वर्ष ज्यान जोगाउन सके आउने वर्षहरुमा फेरि तीजेभाकामा छमछम नाच्न पाइने भएकाले सुरक्षित रहन सबैलाई आग्रह गर्नुभयो । तीजका दरमा खीर, चाम्रे, तामा, आलु, घिरौँला, काँक्राको अचार, दहीलगायत परिकार समावेश हुने गरिए पनि पछिल्लो समय भने व्यक्तिको रुचि र स्वादअनुसार विभिन्न खालका परिकार तीजका दरमा समावेश हुन थालेको उहाँको भनाइ छ । उहाँले तीजका मौलिक भाकाको अस्तित्व नै सङ्कटमा पर्ने थालेकाले यसको महत्वलाई सबै मिलेर बचाउनुपर्ने धारणा राख्नुभयो । उहाँको ‘माइती रमाइलो…’ बोलको तीजगीत सङ्ग्रह प्रकाशित छ भने पछिल्लो तीजगीत ‘जान्न म त त्यो घर…’ भर्खरै आएको छ ।

सञ्चारकर्मी एवम् लोकगायिका शान्ति गुरुङले कोरोनाका कारण उत्पन्न असहज परिस्थितिले यस वर्षको तीज निरश बनाएको बताउनुभयो । दिदीबहिनीको महान् पर्व कोरानाले निरस बनाए पनि निराश भएर बस्न नहुने उहाँको भनाइ छ । “वर्ष दिनको पर्व कैयौंँ दिदीबहिनी माइतीको काखमा पीडा बिसाएर रमाउने पर्व हो, कामकाजी महिलाका लागि त यो पर्व एउटा ‘रिफ्रेसमेन्ट’को पर्व हो तर कोरोनाको जोखिमले एक अर्काबीच दूरी राखेर बस्नुपर्ने अवस्था सिर्जना भयो ।” उहाँले यस वर्ष कोरोनालाई जित्न सके अर्को वर्ष पक्कै तीज मनाउन पाइने भएकाले असहजतामा सहजता खोजी खुशी बटुलेर परिवारबीच नै रमाइलो गर्न आग्रह गर्नुभयो । यसपालिको तीज प्रविधिको प्रयोग गरी अर्काबीचको आत्मीयता साटेर मनाउनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij