• Wednesday 9th of September 2026

बीउ उत्पादन गरेर लाखौँ आम्दानी


  • आशाका किरण

दुर्गम गाउँका किसानले हाइब्रिड बीउ उत्पादन तथा बिक्री गरेर बर्सेनि लाखौ मूल्यबराबरको आम्दानी गर्न सफल भएका छन् । दुल्लु नगरपालिका वडा नं. १३ का पौरखी किसान विष्णुबहादुर शाहीसहित ८० जनाको समूहले यस्ता बीउ उत्पादन र बिक्री वितरण गर्दै आएका हुन् । किसान शाही अहिले आफूले उत्पादन गरेको सृजना हाइब्रिड टमाटरको बीउ सुकाउने तरखरमा हुनुहुन्छ । उहाँले एक किलोग्राम यो बीउ रू ५५ हजारमा बिक्री हुने बताउनुभयो । यो वर्ष समूहका सबै मिलेर १० किलोग्राम बीउको माग पूरा गर्नुपर्ने छ । कृषक शाहीले भन्नुभयो, “हामीले हातेमालो सहकारीमार्फत बीउ उत्पादन गर्ने गरेका छौँ, प्लास्टिकको घरमा हाइब्रिड बीउ निकाल्न निकै मेहनत गर्नुपर्दछ ।”
सहकारीमा आबद्ध २८० किसानमध्ये गत वर्षदेखि ८० किसानले टमाटर, प्याज, सिमी, मुला, चम्सुरलगायत बीउ उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । गत वर्ष रू ८० लाखको बीउ बिक्री गरेका त्यहाँका किसान यो वर्ष रू १ करोड २० लाखको बीउ बिक्री गर्ने तयारीमा छन् । उत्पादित बीउ सिए सिड कम्पनीले खरिद गर्दै आएको छ । एउटा किसानले न्यूनतम रू ५ लाखसम्म आम्दानी गर्न सफल भएका छन् ।

कृषि विकास कार्यालयले बीउ उत्पादनका लागि पक्की प्लास्टिक घर निर्माणसँगै प्रविधिमा पनि सहयोग गर्दै आएको उक्त कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिनुभयो । अहिले उक्त कार्यालय र सहकारीको साझेदारीमा रू २० लाखको लगानीमा १२ वटा पक्की टनेल निर्माण गरिएको छ । यसले बीउ उत्पादनमा निकै सहयोग पुग्ने सम्बद्ध किसानले बताए । बीउ उत्पादनबारे जानकारी लिन कर्णाली प्रदेश सरकारका सभामुख राजबहादुर शाही र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले स्थलगत अवलोकन गर्नुभयो । किसानले उत्पादन गरेको बीउको प्रवर्धनसँगै प्याकेजिंङको व्यवस्थापन गर्न प्रदेश सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij