• Thursday 10th of September 2026

प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको महत्वाकाँक्षी योजना सार्वजनिक


  • आशाका किरण
In this photo released by Xinhua News Agency, the Political Bureau of the Communist Party of China (CPC) Central Committee presides over the fifth plenary session of the 19th CPC Central Committee in Beijing, China on Oct 29, 2020. China's leaders are vowing to make their country a self-reliant "technology power" after a meeting to draft a development blueprint for the state-dominated economy over the next five years. (Yin Bogu/Xinhua via AP)

बेइजिङ, १४ कात्तिक (रासस–एपी) –– चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनले नयाँ महत्वाकाँक्षी योजना सार्वजनिक गरेको हो ।

सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरूले नयाँ पञ्चवर्षीय योजनाको मस्यौदा बिहीबार बेइजिङमा सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

राष्ट्रपति सी जिनपिङको नेतृत्वको चीनले ट्रम्प प्रशासनले अमेरिकी प्रविधि बिक्रीमा लगाएको प्रतिबन्धबाट सिर्जित क्षतिलाई सीमित गर्ने प्रयास गरिरहेको छ । अमेरिकाले खासगरी सुरक्षा र जासुसीको आरोप लगाउँदै चिनियाँ प्रविधि कम्पनीहरुलाई एकपछि अर्को आदेशद्वारा अमेरिकी चिप्सहरु बिक्री गर्न रोकिराखेको छ ।

चिनियाँ कम्पनीहरुले टेलिकम, बायोटेक र अन्य क्षेत्रमा प्रतिस्पर्धा गर्न थालेपछि अमेरिकाले नयाँ रणनीति अपनाउन थालेको चिनियाँ नेताहरुको बुझाई छ ।

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा प्रकाशित विज्ञप्तिमा “विज्ञान र प्रविधि राष्ट्रिय विकासको लागि रणनीतिक महत्वका भाएकाले यो क्षेत्र आत्मनिर्भर हुनु पर्दछ” भनिएको छ । विज्ञान र प्रविधिमाथिको सामथ्र्य निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढ्नुपर्ने विज्ञप्तिमा उल्लेख छ तर यसबारे विस्तृत विवरण दिइएको छैन ।

चीनमा सन् १९५० को दशकदेखि पञ्चवर्षीय योजना लागू छ । चार दशकयता खुला बजार र आर्थिक उदारीकरणको नीति अंगालेको चीनले पञ्चवर्षीय योजनाका आधारमा देशको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई सम्बोधन गर्ने गरेको छ जसमा चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका प्रमुख रुपमा रहने गरेको छ ।

योजनाको पूर्ण विवरण अर्को वर्षको मार्चमा सार्वजनिक गरिनेछ । नियमहरुमा संशोधन तथा उद्योगहरुका लागि नयाँ योजना त्यसपछि अगाडि सारिने बताइएको छ ।

बिहीबार सार्वजनिक वक्तव्यमा “हरित र कम कार्बनयुक्त विकास”लाई बढावा दिइने तथा चिनियाँको जीवनस्तर माथि लैजाने वाचा गरिएको छ । साथै वक्तव्यमा २३ लाख सैनिकलाई थप सुदृढ र सुसज्जित गरी “राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न” सक्षम तुल्याइने उल्लेख छ ।

चीनले हाल एक “जटिल अन्तर्राष्ट्रिय परिस्थितिको सामना गरिरहेको छ,” वक्तव्यमा भनिएको छ, तर कोरोनाभाइरस महामारी वा अमेरिकासँगको कर युद्धका बारेमा कुनै उल्लेख गरिएको छैन ।

चीनका कारखानाहरूले विश्वको अधिकांश स्मार्टफोन, पर्सनल कम्प्युटर र दैनिक उपभोग्य इलेक्ट्रोनिक्स उत्पादन गर्दछन्, तर त्यसका लागि अमेरिकी, युरोपियन र जापानी सामान जरुरी हुन्छ । चिनियाँ कम्युनिष्ट नेताहरूले यी वस्तुको उत्पादनमा विदेशीसँगको परनिर्भरतालाई रणनीतिक कमजोरीको रूपमा हेर्छन् ।

बिहीबारको वक्तव्यमा कुनै खास प्रविधिका बारेमा उल्लेख छैन, तर नेताहरूले विशेष गरी चीनमा उत्पादित स्मार्टफोन, इलेक्ट्रिक कारहरू र अन्य प्रविधिमा प्रयोग गरिने प्रसेसर चिप्सहरुका लागि अमेरिकासँग निर्भर रहनु परेकामा चिन्ता व्यक्त गरेका छन् ।

चीनले मूल्यका आधारमा हाल कच्चा तेलको भन्दा बढी मूल्यको सेमीकन्डक्टर आयात गर्दछ ।

टेलिकम उपकरण निर्माता हुवावे टेक्नोलोजिजले अहिले चिप्स र अन्य उपकरण निर्माण गर्न थालिसकेको छ । तर, यसले आफ्ना सबै आवश्यकता पूर्ति गर्न सक्दैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा चिनियाँ कम्पनीमाथि दबाब बढाएसँगै चिनियाँहरुले प्रसेसर चिप्स र प्रविधि विकासतर्फ ध्यान दिन थालेका हुन् ।

गत वर्ष, ह्वाइट हाउसले चिनियाँ चिप्स र अन्य सामानको आयातमा समेत कडा नियन्त्रण घोषणा गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij