• Saturday 25th of July 2026

कोसोभोका राष्ट्रपतिद्वारा राजीनामा, युद्ध अपराध मुद्दाको सामना गर्ने


  • आशाका किरण

प्रिस्टिना, कोसोभो, २१ कात्तिक (रासस–एपी) –– कोसोभाका राष्ट्रपति हाशिम थासीले बिहीबार पदबाट राजीनामा दिनु भएको छ ।

सन् १९९० को दशकमा सर्बियाबाट स्वतन्त्रता प्राप्त गर्नेक्रममा राष्ट्रपति थासीले छापामार लडाकूको भूमिका निर्वाह गर्नु भएको थियो । उहाँमाथि हेग अन्तर्राष्ट्रिय अदालतमा युद्ध अपराध र मानवता विरोधी अपराधसँग सम्बन्धित मुद्दा लागेको छ ।

कोसोभो युद्धका क्रममा १० हजारभन्दा बढी मानिस मारिएका थिए ।

कोसोभोको राजधानी प्रिस्टिनामा आयोजित पत्रकार सम्मेलनमा ५२ वर्षीय थासीले भन्नुभयो, “हामी स्वतन्त्रता रुचाउने मानिस हौं, प्रतिहिंसक र प्रतिशोधी होइनौं । युद्धमा कोसोभो पीडित भएको थियो, सर्बियाले आक्रमणकारीको भूमिका खेलेको थियो ।”

हेग अदालतमा गत अप्रिलमा मुद्दा दर्ता भएको र अक्टोबर २६ मा न्यायाधीशले मुद्दाका बारेमा सार्वजनिक जानकारी दिएका थिए ।

अदालतमा विचाराधीन मुद्दामा राष्ट्रपति थासी र कोसोभो लिबरेसन आर्मीका अरु तीन जना पूर्व कमान्डरमाथि मार्च १९९८ देखि सेप्टेम्बर १९९९ को अवधिमा गैरकानुनी रुपमा धम्की दिने, अभद्र व्यवहार गर्ने, हिंसा फैल्याउने तथा आफ्ना विरोधीलाई सफाया गर्नेजस्ता गम्भीर अपराध गरेको आरोप छ ।

आरोपित थासी सहित तीन जना पूर्व कमान्डरहरु काद्री भेसेली, रेक्सहेप सेलिमी र जाकुप क्रासनिकी केही दिनभित्रै हेग अदालतमा उपस्थित हुनेछन् ।

उनीहरुमाथि हत्या, यातना, जबर्जस्ती बेपत्ता र उत्पीडन समेतका १०–१० वटा आरोप लागेका छन् ।

थासी र भेसेली दुबैले आफूहरुमाथि लागेका आरोप अस्वीकार गर्नु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij