• Wednesday 9th of September 2026

च्याउखेती : बजारको चिन्ता छैन, खपत सहजै


  • आशाका किरण

कैलालीको जानकी गाउँपालिकाका युवा च्याउखेतीमा आकर्षित भएका छन् । उनीहरुले व्यावसायिकरूपमा च्याउखेती गरेर अहिले मनग्य आम्दानीसमेत लिन थालेका छन् । रु छ हजार लगानीबाट च्याउखेती शुरुआत गरेका जानकी–४ का श्रीराम कठरियाले अहिले रु दुई लाखको लगनी गर्नुभएको छ । उहाँले कन्य च्याउ र गोब्रे च्याउ गरी दुईथरिका च्याउ उत्पादन गरिरहनुभएको छ । “मैले विगतमा धेरै काम गरेँ तर अहिले च्याउखेतीमा भने सन्तुष्ट छु”, उहाँले भन्नुभयो, “दुई जातका च्याउ उत्पादन गर्छु, बजारको चिन्ता छैन, खपत सहजै भइरहेको छ ।”

अन्य कामभन्दा कम लगानी र घरमै बसेर गर्न सकिने भएकाले च्याउखेती रोजेको उहाँको भनाइ छ । “शुरुमा थोरै लागनीबाट शुरु गर्न सकिन्छ, तरकारी भएकाले बिक्री भइहाल्छ”, उहाँले भन्नुभयो, “घरपरिवार मिलेर गर्न सकिन्छ, यसले कामदार व्यवस्थापनमा समेत सहयोग पुगेको छ । च्याउसँगै अन्य काम पनि गर्न सकिन्छ ।”

जानकी–५ का एञ्जिल चौधरीले पनि गत वर्षदेखि च्याउखेती शुरुआत गर्नुभएको छ । उहाँले रानी जमरा कुलरिया सिँचाइ आयोजना कैलालीको ५० प्रतिशत अनुदान सहयोगमा च्याउखेती गर्नुभएको हो । “आधा लगानी सिँचाइ आयोजनाले गरिदिएपछि म थप हौसिएको छु । अहिले ६०० पोका च्याउ उत्पादन गरिरहेको छु”, उहाँले भन्नुभयो, “मेरो बारीमा उत्पादन भएको च्याउ टीकापुर, लम्की, जोशीपुर, भजनी र धनगढीसम्म जाने गरेको छ ।” उहाँको व्यवसायमा पनि पाँच जना घरका सदस्य आफैँले काम गरिरहेका छन् । बजारीकरणका लागि दुई जना कामदारसमेत राख्नुभएको छ ।

कामका लागि युवाहरु विभिन्न ठाउँ भौतारिनुभन्दा यसरी व्यवसाय थालेमा यही राम्रो कमाइ गर्न सकिने उहाँको भनाइ छ । “बेरोजगार भयाँै भनी धेरै युवाहरु भारत तथा विदेश जान थालेका छन्, कोरोना सङ्क्रमण फैलिएपछि यहाँका अधिकांश युवा भारत पसेका छन्”, उहाँले भन्नुभयो, “बेरोजगार बस्नु, विदेश जानुभन्दा यही कृषिमा लागे राम्रो आम्दानी गर्न सकिन्छ ।”

गाउँपालिकाले पनि युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नुका साथै कृषिमा अनुदानका कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । जानकी गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरी युवालाई लक्ष्य गरेर कृषिकर्म गर्ने युवालाई गाउँपालिकाले सघाइरहेको जानकारी दिनुहुन्छ । “तालिम, प्राविधिक ज्ञान दिने काम गाउँपालिकाले गरिरहेको छ”, उहाँ भन्नुहुन्छ, “यसका साथै नयाँ कृषि व्यवसाय गर्न चाहनेका लागि गाउँपालिकाले थप सहयोग गर्न सक्छ ।”

कृषक अगुवा सन्दीप चौधरी पछिल्लो समय युवाहरु कामको खोजीमा विदेशिने क्रम बढेकाले स्थानीय सरकारले स्थानीयस्तरमा युवालाई स्वरोजगार बनाउने खालका कार्यक्रम थप सञ्चालन गर्नुपर्ने सुझाव दिनुहुन्छ । “अबको भविष्य भनेको कृषि नै हो, कृषिलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “अनुदानमात्र नभई बजारीकरणमा समेत सहयोग गर्न आवश्यक छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij