• Saturday 25th of July 2026

सफल हुँदै चियाखेती


  • आशाका किरण

बागलुङ जिल्लामा चियाखेती सफल र विस्तार हुँदै गएको छ । जिल्लाका विभिन्न स्थानमा परीक्षणका लागि लगाइएको चियाखेती राम्रो भएपछि स्थानीयवासी उत्साहित बनेका छन् ।

मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालित काठेखोला गाउँपालिका–७ रेश, वडा नं ३ धम्जा, बागलुङ नगरपालिका–८ सिगानालगायतका क्षेत्रमा चियाखेती सफल हुने देखिएको छ । दुई वर्षअघि रेशको तिङरिङमा लगाइएको चिया अबको दुई वर्षभित्र उत्पादन दिने गरी फस्टाएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

रेशमा अहिले झण्डै एक सय रोपनी क्षेत्रफलमा चियाखेती गरिएको छ । सामुदायिक वन, विद्यालयको जग्गा र सार्वजनिक स्थानमा चियाखेती विस्तार गरिएको अध्यक्ष लामिछाने बताउनुहुन्छ । अहिले रेश र सिगानाका किसानले खेर गएको बाँझो जग्गामा चियाखेती गर्न थालेका छन् । तीन वर्ष अगाडि सिगानाको बौडेचौर क्षेत्रमा लगाएको १५ हजार बिरुवामध्ये झण्डै १२ हजार बिरुवा उत्पादन दिने गरी बढिरहेको बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजन जिसीले जानकारी दिनुभयो ।

“हाम्रोमा केही व्यक्तिगत र केही सार्वजनिक जग्गामा चियाखेती लगाइएको छ, शुरुमा १० हजार बिरुवा लगाइएकामा चार हजार थपियो” जिसीले भन्नुभयो,“सम्भाव्यता अध्ययनका क्रममा चियाखेतीको सम्भावना प्रवल देखिएपछि गरिएको प्रयास सफलता उन्मुख छ ।” कोरोनाका कारण यस वर्षको योजना प्रभावित भए पनि आगामी वर्ष ५० हजारभन्दा बढी चियाका बिरुवा लगाउने योजना नगरपालिकाको छ ।

नमूना कृषि गाउँभित्र विद्यालयको जग्गा पर्ने भएकाले २७ रोपनी जग्गामा चियाखेती विस्तार गरिरहेको जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक थम्मनबहादुर जिसीले जानकारी दिनुभयो । सत्ताइस रोपनी जग्गामध्ये १०÷१२ रोपनी जग्गामा चियाखेती लगाइसकेको र अन्य जग्गा चियाखेती विस्तारका लागि तयारी भइरहेको जिसीको भनाइ छ । “पाँच वर्षमा हुने चिया चार वर्षभित्रै तयारी हुने अवस्था देखियो” जिसीले भन्नुभयो, “अब व्यावहारिक रुपमै चियाखेती सफल हुने देखियो, यसलाई विद्यालयको आम्दानीको स्रोतका रुपमा ल्याउने गरी काम थालेका हौँ ।” रेशको बौर, तिङरिङलगायतका क्षेत्रमा चियाखेती विस्तार भइरहेको छ ।

चियाखेती विस्तारका लागि सिगानामा नगरपालिका र रेशमा गण्डकी प्रदेश सरकारले सहयोग गरिहेको छ । दुई वर्षभित्रै चिया नै उत्पादन गर्ने गरी चियाखेती विस्तार थालिरहेको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । “अब चियाखेती सफल हुनेछ, अन्य स्थानीयवासीले व्यक्तिगत जमिनमा लगाउन थालेका छन्”, अध्यक्ष लामिछानेले भन्नुभयो,“शुरुमा लगानी र मेहनत खेर जाला भन्ने अवस्था थियो तर चिया हुर्केको देख्दा सफल भइयो भन्ने लागेको छ, रेश सिगाना मिलेर सानो सानो चिया उद्योगनै चलाउन सकिने सम्भावना छ ।”

चिया उद्योग स्थापनाका लागि चियाका बिरुवा थप्दै जानुपर्ने भएकाले अभियानलाई निरन्तरता दिन बिरुवामा अनुदानको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सिगानाका किसान खिमबहादुर खड्काले बताउनुभयो । चार वर्ष अघिसम्म क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा बाहेक साविक पश्चिमाञ्चल विकास क्षेत्रमा व्यावसायिक चियाखेतीको अभ्यास निकै कम थियो ।

बागलुङ जिल्लामा तीन वर्ष अघिदेखि व्यावसायिक रुपमा चियाखेती गर्न थालिएको हो । पूर्वऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मा, गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटालगायतको अगुवाइमा साविकको अमरभूमि गाविसको सिरबारेमा गोल्डेन टी स्टेट कम्पनीमार्फत व्यावसायिक चियाखेती गरिएको थियो । चियाखेतीका लागि उच्च पहाडी र भिरालो जमिन उपयुक्त हुने भएका कारण पहाडी क्षेत्रमा चिया खेतीतर्फको आर्कषण बढ्न लागेको छ । सिरबारेमा गोल्डेन टी स्टेट कम्पनीको प्राविधिक सहयोगमा बागलुङमा अन्य स्थानमा चियाखेतीको उभार आउन थालेको हो ।

बागलुङ जिल्लाको समग्र क्षेत्रमा उत्पादन भएको चियाखेतीका आधारमा एउटा चिया प्रशोधन केन्द्र स्थापना गर्न सके यहाँका किसानलाई अझै फाइदा पुग्ने सिरबारेमा गोल्डेन टी स्टेट कम्पनीका सञ्चालक रामजीप्रसाद शर्माले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij