• Wednesday 9th of September 2026

जडीबुटी कृषक मारमा


  • आशाका किरण

तिम्माका जडीबुटी कृषकले उत्पादित वस्तुले उचित मूल्य नपाएको बताएका छन् । पकेट क्षेत्र घोषणा भएपछि यहाँ विभिन्न जातका बहुमूल्य जडीबुटीको उत्पादन भए पनि बजार मूल्य थाहा नपाउँदा कृषकहरु समस्यामा परेका हुन् । जडीबुटीको बजार मूल्यको विषयमा ज्ञान नहुँदा विचौलियाले त्यसको लाभ लिने गरेको कृषकको भनाइ छ । सरकारले जडीबुटीको मूल्य तोकिदिएमा बिक्री वितरणमा सहजता हुने कृषक बताउँछन् ।

स्थानीयवासी जडीबुटी व्यवसायी मानबहादुर राईले भन्नुभयो, “हामीले धेरै बहुमूल्य जडीबुटीको खेती गरिरहेका छौँ, उत्पादन पनि राम्रो छ तर बजार मूल्यको ज्ञान नहुँदा समस्या छ, मेरो बुझाइमा हामी कृषकले बिक्री गरेको वस्तुबाट ३२ प्रतिशत मात्र लाभ पाउछौँ भने ६८ प्रतिशत लाभ ठूला व्यापारीले लिने गरेको अवस्था छ, यसको निराकरण सरकारबाट हुन आवश्यक छ ।”

टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका अधिकांश कृषकले चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदम चाल, वन मूला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बूढो ओखती, लोड सल्ला, विखुम्बालगायत जडीबुटीको खेती गर्दै आएका छन् । यहाँका एक जना कृषकले ६२ मनसम्म चिराइतो उत्पादन गर्दै आएका छन् ।

अर्का स्थानीय जडीबुटी व्यवसायी खेमराज राउतले भन्नुभयो, “मैले करिब ४० रोपनी क्षेत्रफलमा चिराइतोलगायत अन्य जडीबुटीको खेती गरिरहेको छु, विगतका वर्षमा मैले ६२ मनसम्म चिराइतो उत्पादन गरेको छु, त्यस अवस्थामा मैलै प्रतिमन रु पाँच हजारमा बिक्री गर्न बाध्य भए त्यसबाट आफ्नो लगानी नै उठाउन गाह्रो छ, यस वर्ष प्रतिमन रु १२ हजारमा बिक्री गरे त्यो पनि मेहनतका आधारमा कम नै हो, सरकारले मूल्य निर्धारण गरिदिए राम्रो हुने थियो ।”

जडीबुटीको सङ्कलन तथा भण्डारणका लागि सरकारबाट व्यावहारिक ज्ञान तथा भण्डारण केन्द्रको स्थापना गर्नसके किसानलाई केही राहत हुने स्थानीय जडीबुटी व्यवसायी सङ्गम राईले बताउनुभयो । मूल्यमा गिरावट आएपछि पछिल्लो समयमा जडीबुटीको उत्पादनमा पनि केही कमी आएको व्यवसायी राईले बताउनुभयो । मूल्यमा घटबढ हुँदा उत्पादनमा पनि असर परेको उहाँको भनाइ छ ।

जडीबुटीको उत्पादन भए पनि बजारीकरणमा केही कठिनाइ रहेको डिभिजन वन कार्यालयले जनाएको छ । यसका लागि सरकारको उच्च तहबाट भारतलगायत अन्य देशसँग पहल आवश्यक देखिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । भोजपुरको माथिल्लो भेगमा जडीबुटीको प्रशस्त सम्भावना रहेकाले यसको विस्तार गर्दै किसानलाई सकेको सहयोग गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij