• Saturday 25th of July 2026

सन् २०३२ को ओलम्पिकका लागि क्वीन्सल्यान्डले दाबी गर्ने


  • आशाका किरण

सिड्नी, २२ मंसिर (रासस–सिन्ह्वा) – अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यले सन् २०३२ को ओलम्पिक खेल आयोजनाका लागि आफूले प्रस्ताव अगाडि सार्ने घोषणा गरेको छ ।

कोरोनाभाइरस महामारीका कारण ओलम्पिक खेल आयोजना गर्नेसम्बन्धी यसअघि गरिएका तयारी स्थगन गरिए पनि अब चाँडै यसबारेमा प्रयत्न थालिने उक्त राज्यका अधिकारीहरुले बताएका छन् ।

राज्यकी मुख्यमन्त्री अनास्तासिया पालास्जुकले सोमबार ओलम्पिक कार्यदल गठन प्रक्रिया थालनी गरिएको जानकारी दिनुभयो । उहाँले कार्यदलको सुझाव बमोजिम क्विन्सल्यान्डमा ओलम्पिक खेल ल्याउन प्रयत्न गरिने बताउनुभयो ।

उहाँले कार्यदलका सदस्यहरुले सन् २०२१ को जुलाई २३ का लागि तय भएको टोक्यो ओलम्पिकका गतिविधिलाई नजिकबाट नियालीरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोनाभाइरसको संकटपछिको विश्वमा टोक्यो ओलम्पिकको विकासक्रमलाई हामीले ध्यान दिनुपर्छ ।”

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका उपाध्यक्ष एवं अस्ट्रेलियाली ओलम्पिक कमिटीका अध्यक्ष जोन कोट्ससँग सोमबार नै मुख्यमन्त्री पालास्जुकले भेटवार्ता गर्नु भएको थियो ।

कोट्सका अनुसार सन् २०३२ को ओलम्पिक आयोजनाका लागि हालसम्म मोटामोटी पाँचवटा देशले चासो देखाएका छन् । कोट्सले अस्ट्रेलियामा कोरोनाभाइरसको संक्रमण लगभग नियन्त्रणमा आइसकेकाले सबै अस्ट्रेलियावासीले ओलम्पिक खेलको आयोजनाका बारेमा सकारात्मक रुपमा सोच्न सक्ने बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखले जापानका प्रधानमन्त्री योसिहिडे सुगासँग गत महिना टोक्योमा भेटवार्ता भएको र टोक्यो ओलम्पिक निर्धारित मितिमै हुनेमा दुबै नेता सहमत भएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij