• Wednesday 9th of September 2026

प्राङ्गारिक जुम्ली ब्रान्ड बन्दै


  • आशाका किरण

जुम्लामा प्राङ्गारिक कृषि उपज जुम्ली ब्रान्ड निर्माण गरिने भएको छ । बाहिरी जिल्लाबाट दिन प्रतिदिन जुम्ली अर्गानिक वस्तुको माग बढे पनि अन्य जिल्लामा उत्पादित वस्तुलाई जुम्लाको नाम बेचेर व्यापारीले यहाँको अर्गानिक पहिचान गुम्ने खतराले सो ब्रान्डले यहाँका किसानलाई राहत हुने किसान रुपा पाण्डेले बताउनुभयो ।

जुम्ली अर्गानिक उत्पादनको बजारीकरण तथा पहिचान कायम राख्न ‘जुम्ला ब्राण्ड’ तयार गर्न लागिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “जुम्ली अर्गानिक वस्तु चिनाउने खालको लोगो निर्धारणका लागि सूचना आह्वान गरेका छौँ, जुम्ला ब्राण्ड तयार भएपश्चात जुम्ली अर्गानिक स्याउलगायत अन्य साम्रागी यहाँको सबै कृषि वस्तुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पाउने कार्यालय प्रमुख देवकोटाले बताउनुभयो ।”

स्याउका चाना, कालो रातो, सेतो र माले सिमी, मार्सी चामल, कागुनो र चिनोको चामल, घत, मास, मुगी मास, सेतो भटमास ठूलो, कालो भटमास सानो, फापरको पिठो, लोकल गहुँ, जौ, कोदाको पिठोलगायत दर्जनौँ जुम्ली अर्गानिक कृषि वस्तुको ब्रान्डिङ गर्ने तयारी भइरहेको कृषि विकास कार्यालयले जनाएको छ ।
अर्गानिक कृषि वस्तुको पहिचान झल्काउने जुम्ला तथा कर्णाली ब्राण्ड लोगो निर्धारणका लागि १५ दिने सूचना जारी गरिएको छ ।

पन्ध्र दिनभित्र उत्कृष्ट तथा अर्थपूर्ण ‘जुम्ला ब्राण्ड’ झल्काउने लोगो निर्माण गर्न डिजाइनकर्तालाई पुरस्कृतसमेत गरिने कार्यालय प्रमुख देवकोटाले बताउनुभयो । ‘जुम्ला ब्राण्ड’ तयार नगरेकै कारण अर्गानिक वस्तुको बजारीकरणमा चुनौती रहेको थियो । जुम्लाको नाम बेचेर नेपालका विभिन्न बजारमा अन्य जिल्लाको उत्पादन बिक्री हुँदा जुम्ली किसान मारमा परेका रारालिही अर्गानिक सुपथ पसलका सञ्चालक अर्जुन बुढाले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij