• Friday 24th of July 2026

किबी खेतीतर्फ आकर्षित किसान


  • आशाका किरण

डडेल्धुरा जिल्लाका किसान स्वास्थ्यका साथै आर्थिक दृष्टिकोणलेसमेत महत्वपूर्ण रहेको किबीखेती तर्फ आकर्षित भएका छन् । सुन्तला उत्पादनमा कमी आएको तथा पर्याप्त मात्रामा फल्न नसकेका कारण किसान किबीखेती तर्फ लागेका हुन् ।

शुरुमा एक पटक लगानी गरेपछि ४०÷५० वर्षसम्म उत्पादन दिइरहने र बजारकोसमेत अभाव नहुने भएपछि किसान सो खेतीतर्फ आकर्षित भएका हुन् । सदरमुकाम नजिकै पर्ने अमरगढी १ भेटा, ७ पोखरा र ६ दमोडा बडामा पनि केही किसानको समूहले गत वर्षदेखि किबीखेती गर्दै आएका छन् ।

किबीका बिरुवा ५० प्रतिशत अनुदामा यस वर्ष ८०० वितरण गरिएको थियो । दुवै ठाउँका लागि दोलखाको बोचस्थित बागबानी फार्मबाट बिरुवा झिकाइ नर्सरीबाट प्रति बिरुवा रु १०० मा कृषि ज्ञान केन्द्र डडेल्धुराले अनुदानमा किसानका लागि खरिद गरी समूहलाई वितरण गरिएको कृषि ज्ञान केन्द्र कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिनुभयोे । बिरुवा लगाएको चार वर्षमै उत्पादन दिने भए पनि बजारमा आउन भने पाँच वर्ष लाग्दछ । यसको फल तीन प्रकारको हुने हुँदा मूल्य पनि क्रमशः तीन, चार र पाँच सय प्रति किलोमा बिक्री गर्ने सकिने र विदेशबाट आउने ए ग्रेडको किबीको मूल्य भने प्रतिकेजी ९०० पर्ने भट्टले जानकारी दिनुभयो ।

उत्पादित किबीको फललाई वियर, जुस, जाम र वाइन बनाएर बिक्री गर्ने विषयमा अध्ययन भइरहेको बताइएको छ । डडेल्धुरामा किबी फलको शुरुवात चार वर्ष मात्र भएको हो । किबीखेती समुद्री सतहबाट एक हजार २०० मिटर देखि दुई हजार ४०० मिटर उचाइमा लगाइन्छ । यसलाई सिँचाइको आवश्यक पर्ने भए पनि वर्षामा पानी जम्न भने हुँदैन । बागबानी फार्म बोचका अनुसार प्रत्येक १० बोट पोथी जातको बिरुवा लगाउँदा एक बोट अनिवार्य भाले जातको बिरुवा लगाउनु पर्दछ । किबी फल ज्यादै पोषिलो र धेरै फल्नुका साथै उत्पादन प्रविधि सजिलो भइकन पनि बजारमुखी छ । लहरामा फल्ने अत्यन्त पोषिलो यो फल फागुन चैतमा पूmल फुल्ने र कात्तिक मङ्सिरमा टिप्न गोग्य हुन्छ ।

यो फलमा भिटामिन सि, ई, के र अन्य खनिज पदार्थ धेरै भएकाले स्वास्थ्यका लागि बहुउपयोगी पोषणयुक्त हुनुका साथै पेटसम्बन्धी रोग निमोनिया, दम, उच्च रक्तचाप, कोलेष्टोरल, मधुमेह जस्ता धेरै थरी रोगमासमेत उपयोगी हुने विज्ञहरू बताउँछन् । किबी फल नेपालमा भित्रिएको करिब तीन दशक भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij