• Saturday 25th of July 2026

प्युठानमा व्यावसायिक कागती खेती


  • आशाका किरण

प्युठानको ऐरावती गाउँपालिका–६ काल्नेका ७७ वर्षीय वृद्ध डोरबहादुर खड्का व्यावसायिक कागती खेतीमा रमाउनुभएको छ । उहाँका छोरा भरतको आर्थिक लगानी र सहयोगमा उहाँले विगत पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आउनुभएको हो । विसं २०७२ मा ४०० बिरुवाबाट कागती खेती शुरु गरेको उहाँ बताउनुहुन्छ । पछिल्ला वर्षमा कागतीका बोट वृद्धि गर्दै हाल साना–ठूला गरेर एक हजार कागतीका बिरुवा आफ्नो बारीमा रहेकोे उहाँले बताउनुभयो । आफ्नै करिब ४० रोपनी क्षेत्रफलमा कागती खेती गर्दै आएको उहाँ बताउनुहुन्छ । “यत्तिकै बस्यो भने अनेकन रोग लागेर बिरामी भइन्छ, मेहेनत गर्यो भने परिश्रमको फल मिठो हुन्छ”, उहाँले भन्नुभयो, “परिश्रमी बन्न कागती खेती गर्दै आएको हूँ ।”

तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट ४०० बिरुवा ५० प्रतिशत अनुदानमा पाएपछि उहाँले कागती खेती शुरु गर्नुभएको हो । त्यसपछि ऐरावती गाउँपालिका कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा ६०० बिरुवा थपी एक हजार बिरुवा पुर्याएको उहाँले बताउनुभयो । एक हजार बिरुवामध्ये हाल ६०० बिरुवाले फल दिइरहेको र अन्य बिरुवा फल्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । लामो समयसम्म गाउँमै तरकारी खेती गर्नुभएका डोरबहादुरले तरकारी खेतीलाई समय दिन नसकेपछि कागती खेती शुरु गरेको बताउनुभयोे । अघिल्लो वर्षमा रु ३५ हजार बराबरको कागती बेच्न सफल भएको उहाँले बताउनुभयो । कागती गाउँघरसँगै बजार क्षेत्र बिजुवारमा पुर्याएरसमेत बेच्ने गरेको उहाँले बताउनुभयो ।

करिब रु तीन लाख लगानीमा कागती खेती गरिएको उहाँले बताउनुहुन्छ । यस वर्षमा भने कागती बोटबाट झरेर घाटा भएको डोरबहादुरका छोरा भरतले बताउनुभयो । उहाँका अनुसार करिब चार क्विन्टल कागतीका दाना झरेर खेर गएको छ । वैशाखदेखि यता दुई क्विन्टल कागतीका दाना बेचेको उहाँले बताउनुभयो ।

जिल्लाको स्वर्गद्वारी नगरपालिका–९ लामाचौरका पूर्णप्रसाद कालाथोकीले पनि व्यावसायिक कागती खेती गर्दै आउनुभएको छ । उहाँले माण्डवी गाउँपालिका–३ साजपानीमा चार वर्षदेखि कागती खेती गर्दै आउनुभएको हो । एकचालीस वर्षीय कालाथोकीले ३४ रोपनी जग्गामध्ये आधा क्षेत्रफलमा ३५० कागतीका बिरुवा लगाउनुभएको छ । उहाँले लगाएकामध्ये केही कागतीले यस वर्षदेखि फलसमेत दिन शुरु गरेका छन् । कागती खेतीबाट मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्यसहित कागतीका बिरुवा एक हजार लगाउने लक्ष्य कालाथोकीको रहेको छ । त्यस्तै कागती लगाएर बचेको बाँकी जमिनमा हलेदो, अदुवा लगाएको र दालचिनी लगाउने उहाँको योजना छ ।

स्वदेशमै केही गर्नपर्छ भन्ने उद्देश्यले कागती खेती गरेको र यसले प्रतिफल पनि राम्रो दिने आशा गरेको उहाँले बताउनुभयो । कागती खेती गर्नका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराएको थियो । वर्षमा एकपटक मलजल गरेर पुग्ने कागती खेती अन्य खेतीको तुलनामा सजिलो खेती हो । गाउँपालिकामार्फत एक घर एक धारा निर्माणको अभियानले सिँचाइका लागि एक धारा निर्माण गरिदिएपछि थप सहजता प्रदान गरेको छ । आगामी दिनमा कागती सिँचाइका लागि प्लाष्टिक पोखरी निर्माण गरी पानी सङ्कलन गर्ने योजना बनाएको समेत उहाँले बताउनुभयो ।

यस स्थानमा जग्गा खरिद र कागती खेतीसँगै अन्य कामका लागि करिब रु ५० लाख खर्च भइसकेको कालाथोकीले बताउनुभयो । सडकदेखि टाढा रहेकाले उहाँले कागती खेतीसम्म पुग्नका लागि आफ्नै लगानीमा करिब ५०० मिटर सडकसमेत निर्माण गर्नुभएको छ । आफूसँगै कागती खेतीको रेखदेख र स्याहारसुसारका लागि एक कर्मचारीसमेत राख्नुभएको छ ।

त्यस्तै ऐरावती गाउँपालिका–२ हारबुङका कमलसिंह गुरुङले पनि कागती खेती गर्दै आउनुभएको छ । गुरुङले करिब सात रोपनी जग्गामा साना ठूला गरेर ४०० कागतीका बिरुवा लगाउनुभएको छ । विसं २०६४ देखि ५० बोटबाट कागती खेती शुरु गरेको गुरुङले बताउनुभयो । उहाँका अनुसार हाल ५० बोट फल्ने गरेका छन् भने अन्य केही बोट अर्काे वर्षदेखि फल्नेछन् । कबुलियती वनको अनुदान र आफैँ कलमे बनाएर कागतीका बिरुवा लगाएको उहाँले बताउनुभयो ।

गत वर्ष चार क्विन्टल कागतीका दाना र ८० लिटर रस बेचे पनि यस वर्ष असिनाले दाना झार्दा आम्दानी घटेको उहाँले बताउनुभयो । गुरुङले कागतीको नर्सरीसमेत राख्नुभएको छ । उहाँको नर्सरीमा दुई हजार कागतीका बिरुवा छन् । कागतीसँगै गुरुङ परिवारले ५०० बोट टिमुर, ६५ बोट मौसम, ४५ बोट कफीसमेत लगाएको छ ।

जिल्लामा परम्परागतरूपमा गरिँदै आएको कागती खेतीलाई पछिल्लो समय व्यावसायीकरण गरिएको छ । जिल्लाको ऐरावती गाउँपालिका, झिमरुक गाउँपालिका, प्युठान नगरपालिका, नौबहिनी गाउँपालिकाका केही क्षेत्रका किसानले पछिल्लो समय व्यावसायिकरूपमा कागती खेती गर्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij