सुदर्शन बजगाई,आशाका किरण समाचार। राजनैतिक अस्थिरता, आर्थिक मन्दी, सीमा विवाद लगायतका मुद्धाहरुबाट कठिन परिस्थितिमा गुज्रिरहेको दक्षिण पूर्वी राष्ट्र लेबनानमा कोभिड-१९ महामारीको संक्रमणदर उच्च रुपमा वृद्धि भएको बेलामा नेपाली सेनाले प्रतिकार्यमा सहयोग गरेको छ।
मेडिकल ईमर्जेन्सी घोषणा सहितको निरन्तर लक डाउनको कारण लेबनानी जनसमुदाय थप चपेटामा परेकाबेलामा सेनाले सहयोग गरेको हो।
विषम परिस्थितिमा लेवनानको दक्षिणी क्षेत्रमा तैनाथ भई युनिफिल मिशनको शान्ति सैनिकको जिम्मेवारी वहन गरिरहेको नेपाली सेनाको बर्द बहादुर गण (नेपब्याट-६२०) ले आफ्नो जिम्मेवारी क्षेत्रमा “कोभिड किट सहयोग” अभियान चलाएर स्थानीय निकायहरुको मन, मस्तिष्क जित्न सफल भएको छ ।

उक्त गणका गणपति प्र.से. राजिब थापा लगायतको टिमले यही फेब्रुअरी ४ र ५ मा आफ्नो जिम्मेवारी ईलाका भित्रकासात नगरपालिका र एक गाँउपालिकमा एकै साथ कोभिड १९ प्रतिकार्यको लागि करिब चार हजार अमेरिकी डलर बराबरको सर्जिकल मास्क, पि.पि.ई, सेनिटाईजर, ह्याण्ड वास, इन्फ्रारेड थर्मोमिटर, सेनिटाईजरडिस्पेन्सर मेशिन,औषधीहरु सहितको फष्ट एड बक्स लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
कोभिड प्रोटोकल अनुसार सञ्चालन गरिएको उक्त कार्यक्रममा नगर प्रमुखहरुले विद्यमान सामुदायिक संकटको घडीमा स्थानीय जनभावना अनुरुप नेपब्याटले प्रदान गरेको पहिलो यति ठुलो परीमाणको सहयोग मुक्तकण्ठले प्रशंसा गर्दै दक्षिण लेवनानमा कोभिड-१९ प्रतिकार्यमा नेपाली शान्ति सैनिकहरुको सहानुभूतिको लागि आभार प्रकट गर्नुभयो ।
साथै,कोभिड-१९ लगायतका अन्य राजनैतिक तथा आर्थिक समस्याहरुका कारण कठिन अवस्थामा गुज्रिरहेको समुदायलाई उनीहरुको प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नेपब्याटको यो सहयोग अत्यन्त फलदायीसिद्ध हुने नगर प्रमूखहरुले विश्वास व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको दौरान गणपतिले सैनिक नागरिक सम्बन्धलाई नयाँ आयाम दिन युनिफिल मिशनको शान्ति सैनिकहरुले स्थानीय निकायहरुसंग समन्वय, सहयोग र सहकार्यको अवधारणा अनुरुप हातेमालो गर्दै निरन्तर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम नेपाली शान्ति सैनिकहरुले सन् १९५८ देखी अनवरत रुपमा लेवनानको शान्ति र स्थिरताको लागि पुर्या्ईरहेको ऐतिहासिक योगदानको निरन्तरता हो ।
विभिन्न शान्ति सैनिक मिशनहरुमा तैनाथ गणहरुले आफ्नो प्राथमिक अपरेशनल जिम्मेवारी संगै नेपाली सेनाको कल्याणकारी कोषबाट प्राप्त हुने बजेटबाट सञ्चालन गर्दै आईरहेको यस किसिमको सैनिक(नागरिक सहयोग (सिमिक) कार्यक्रमहरु नेपाल, नेपाली र नेपाली सेनालाई विश्वसामू परिचित गराउन कोशेढुङ्गा सावित हुदै आएको छ ।
नेपालको शान्ति सैनिक मिशनमा सहभागिताको ईतिहास रचेको लेबनानको मिशन युनिफिलमा हालसम्म करिव ५५ हजार शान्ति सैनिकहरुले सहभागिता जनाईसकेका छन् भने ३२ जना शान्ति सैनिकहरुले आफ्नो प्राण आहुति दिईसकेका छन ।
हाल लेबनानमा नेपाली सेनाको स्थापना कालमा खडा भएको बर्द बहादुर गण टद्द औँ डफ्फाको रुपमा तैनाथ रहेको छ । नेपाली सेनाको ३७ औं प्रधान सेनापति महारथी धर्मपाल वर सिंह थापा (अ.प्रा।) ले सन १९७८ मा सर्वप्रथम युनिफिल मिशनमानेत्तृत्व गर्नु भएको यस गणले अहिले पुन चौथोपटक यसै मिशनमा सहभागी हुने दुर्लभ अवसर प्राप्त गरेको छ ।
