• Friday 11th of September 2026

कोरोनाबाट भारतमा शनिबार ७८ जनाको मृत्यु


  • आशाका किरण

२५ माघ (रासस÷सिन्ह्वा) : भारतमा शनिबार कोरोना भाइरसका सङ्क्रमणको कारण ७८ जनाको मृत्यु भएको छ । भारतमा धेरै समयपछि कोरोना भाइरस सङ्क्रमणको कारण एक दिनमा १०० भन्दा कम मानिसको मृत्यु भएको छ । गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म करिब ५८ लाख व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।

यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड आठ लाख २६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ५९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड आठ लाख २६ हजार ३६४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ७८ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ९९६ जना पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड पाँच लाख २२ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ४८ हजार ७६६ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार १२३ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र पाँच जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८७७ को मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभरी २० करोड ६ लाख ७२ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । शनिबार एकै दिनमा मात्र सात लाख ४० हजार ७९४ व्यक्तिलाई कोभिड¬–१९ परीक्षण गरेका आइतबार जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij