• Wednesday 9th of September 2026

आयआर्जनमा सहयोगी बन्यो सहारा सहकारी


  • आशाका किरण

झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले समुदाय लक्षित विभिन्न कार्यक्रममार्फत पूर्वी नेपालका हजारौँलाई आयआर्जनमा टेवा पु-याएको छ । विर्तामोड–२ चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपालले युवा स्वरोजगार, पशुपालन, सिँचाइ, तरकारीखेती, बायोग्यास प्लान्ट, शिक्षा, स्वास्थ्य, आवासलगायत क्षेत्रमा करोडौँ लगानी गर्दै आएको छ ।

संस्थाले विगत चार वर्षदेखि युवा बेरोजगारलाई अटो रिक्सामा लगानी गर्दै आएको छ । हालसम्म तीन हजार विपन्न युवाले सहारामार्फत कर्जा पाएर अटो रिक्सा सञ्चालन गरिरहेको कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । “बेरोजगार युवालाई आयआर्जनमा सघाउ पुगोस् भनेर अटो रिक्सामा लगानी गर्ने कार्यक्रम ल्याएका थियौँ”, गिरीले भन्नुभयो, “अहिलेसम्ममा तीन हजार जनाले अटो रिक्सा हाम्रै सहाराको लगानीमा सञ्चालन भइरहेको पाउँदा खुशी लाग्छ ।”

वैदेशिक रोजगारीबाट फर्केका र जागिर नपाएर घरमै बस्नु परिरहेका महिला र पुरुषले सहाराबाट सहुलियत कर्जा लिएर अटो रिक्सा चलाइरहेका छन् । यसबाट उनीहरूको जीवनस्तरमा सुधार आएको गिरी बताउनुहुन्छ । सहारा नेपालले एक दशकदेखि कृषि क्षेत्रमा वित्तीय लगानी तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । ऊर्जाका क्षेत्रमा संस्थाले तीन हजार २४७ बायोग्यास प्लान्ट निर्माण र आठ हजार १६४ वटा सोलार जडान गरिसकेको छ ।

यो अवधिमा सहाराले तीन हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउने गरी ९०० वटा स्यालो ट्युबवेल वितरण गरेको र कृषिलाई व्यवसायीकरण गर्न १२०० वटा टनेल वितरण गरेको जनाएको छ । एक दशकमा चार हजार २७९ जना किसानलाई बाख्रा र कुखुरापालनमा सघाउन रु ९१ करोड वित्तीय लगानी गरिसकेको र ३० वटा फ्रेस हाउस निर्माणमा साझेदारी गरेको संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाले बताउनुभयो ।

यही चैत मसान्तसम्ममा एक लाख ५० हजार ६६ सदस्य रहेको यस सहकारी संस्थाको प्रदेश नं १ को ११ जिल्लामा ७४ सेवा केन्द्र छन् । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा संस्थाको शेयर पूँजी रु एक अर्ब ४४ करोड २० लाख ७८ हजार ७०० पुगिसकेको छ भने निक्षेप सङ्कलन रु सात अर्ब ९८ करोड र कर्जा लगानी रु नौ अर्ब ७१ करोड रहेको सहायक निर्देशक ईश्वर भट्टराईले जानकारी दिनुभयो ।

संस्थाले कोरोना प्रभावितमध्ये सात हजार ८१६ जनालाई रु दुई करोड ६८ लाख २३ हजार विपद् सापटी र रु तीन करोड ४५ लाख बराबरको व्याज छुट प्रदान गरिसकेको जनाएको छ । विपन्न समुदायलाई बसोबासका लागि विभिन्न दातृसंस्था र पालिकासँगको सहकार्यमा एक हजार ८०० परिवारका लागि आवास निर्माण गरिसकेको र विशेष रोग र दुर्घटनामा २७ हजार ६४२ सदस्यलाई रु २८ करोड ५४ लाख ८९ हजार ९५७ सहयोग पु¥याएको संस्थाका उपनिर्देशक लक्ष्मण खतिवडाले बताउनुभयो । प्रदेशकै अग्रणी सहकारीका रूपमा स्थापित सहारा नेपालले आगामी दिनमा एशियास्तरको सहकारीकारूपमा आफूलाई चिनाउने लक्ष्य लिएको कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij