युगौँदेखि सुदृढ रहँदै आएको हाम्रा पारिवारिक नाता सम्बन्धहरूमा हिजोआज विचलन आउन थालेको छ । पश्चिमा संस्कृतिको प्रभाव र भौतिकताको एकोहोरो आकर्षणले पवित्र सम्बन्धहरूमा दरार पैदा भइरहेको छ । सकेसम्म संयुक्त परिवारमै बस्ने, एकअर्काको सुख–दुःख साटासाट गर्ने संस्कृति लगभग अन्त्य भइसक्यो ।
हाम्रो संस्कृतिमा ठूलाले सानालाई माया गर्ने, जीवनोपयोगी संस्कार र सीप सिकाउने, सानाले ठूलालाई आदर सम्मान गर्ने परम्परा थियो । जन्माई– हुर्काई योग्य बनाउने बाबुआमाहरू बुढेसकालमा बोझ बन्न थालेका छन् । उनीहरूले दिने शिक्षा र संस्कार खोक्रा आदर्शमा सीमित बन्न पुगेका छन् । सन्तान सक्षम भएपछि आमाबाबुलाई लालनपालन गर्नुपर्ने संस्कृति क्रमशः हराउँदै छ ।
पतिपत्नीको सम्बन्धमा दरार आउने क्रम दिनानुदिन बढ्दो छ । पतिपत्नीको सम्बन्ध सम्पत्ति र यौनजस्ता विषयमा मात्र सीमित हुन पुगेका छन् । मन लागे सँगै बस्ने मन नलाागे लुगा फेरेझैं लोग्नेस्वास्नी बदल्ने संस्कृति दिनानुदिन मौलाउँदै छ । दाजु–भाइ, दाजु–बहिनी वा दिदी–बहिनी वा दिदी–भाइबीचको सम्बन्ध पनि विस्तारै धुमिल बन्दै छ ।
आफ्नै खुट्टामा उभिने भएपछि छोराछोरीमा आमाबाबुसँग बस्नु नपरेहुन्थ्यो भन्ने विचार पलाउन थाल्छ । एकभन्दा बढी छोरा हुनेकामा पनि बाबुआमा आफूसँग नबसे हुन्थ्यो, अरुले नै पालिदिए हुन्थ्यो भन्ने सोच पलाएको देखिन्छ । समाजमा प्रतिष्ठित मानिएका र मासिक हजारौं रुपैयाँ तलब थाप्नेका बाबुआमाहरू पनि कि त घरमै प्रताडित भइरहेका छन् नभए वृद्धाश्रम र सडक पेटीमा बस्न बाध्य छन् ।
अघिपछि देखी नसहने तर ‘फादर्स डे’ र ‘मदर्स डे’ का दिन कोसेली लगेर आमाबाबुहरूलाई सम्मान गर्ने संस्कृति फस्टाउँदै छ । बुहारीले सासु–ससुरा–जेठाजुलाई, नन्द र देवरले भाउजुलाई गर्ने सम्मान अचेल देख्न पाइँदैन । रगतको नातासम्बन्धलाई छोडेर नयाँ नातालाई प्राथमिकता दिने चलन बढ्दो छ । लोग्नेले स्वास्नी, स्वास्नीले लोग्ने, बाबुले छोरा, छोराले बाबु–आमा, दाजुले बहिनी, भाइले दिदी मारेको जस्ता घटना दिनहुँ पढ्दापढ्दा असर नगर्ने भइसकेको छ । बाबुले छोरी, दाजुभाइले दिदीबहिनीको बलात्कार गरेको घटना नौलो रहेन ।
देश, आमाबाबु परिवारभन्दा ठूलो पैसा हो भन्ने सोचका साथ विदेशिएकाहरू कति त घर फर्किँदा श्रीमतीलाई नपाएर पुर्पुरो समाएर बस्न बाध्य छन् । क्षणिकको आकर्षणको भरमा बिहे गर्ने र लहडको भरमा छुट्टिने क्रम बढ्दा बालबालिका अलपत्र बन्ने क्रम पनि भयावह छ । धनसम्पत्ति केही होइन सबैभन्दा ठूलो संस्कार, परम्परा र इज्जत हो भन्ने आदर्श हराउँदै छ । धेरै पैसा हुने र चारित्रिक रूपमा जतिसुकै फोहोरी भएपनि बाहिरी रूपमा सुकिला देखिने मानिस नै ठूलो हुन्छ भन्ने भावनाका कारण कतिको दाम्पत्य जीवन धरापमा परेको छ ।
कतिपय ठाउँमा घोषित रूपमा निश्चित रुपैयाँ नबुझाएसम्म छोरीको बिहे नहुने समस्या छ । धेरै ठाउँमा अघोषित रूपमा यो प्रक्रिया चलिरहेको छ । इमानदारको साटो पैसावाललाई ज्वाइँ बनाउन चाहनेहरू संख्या पनि कम छैन । सम्पत्ति र अप्राकृतिक यौनको तृष्णाका कारण लोग्नेस्वास्नीले एक अर्कालाई छोड्ने क्रममात्र बढिरहेको छैन एक अर्कालाई समाप्त पारेको घटना बरोबर सुन्नमा आइरहन्छ । लोग्नेस्वास्नीको सम्बन्धमा दरार उत्पन्न हुँदा त्यले पविारलाई मात्र असर गर्दैन । लोग्नेस्वास्नी छुट्टिँदा तिनका बालबालिकाले पाउने गरेको सास्ती अकल्पनीय छ ।
बुबा–आमा–गुरुलाई देवता मानेर सम्मान गर्ने, साना बालबालिकालाई पनि देवताकै स्वरूपमा मानेर यथोचित ममता दिने संस्कार विलुप्त हुँदैछ । मानवअधिकार र अन्य विभिन्न अधिकारको नाममा कानुनले पनि आमाबाबुले छोराछोरीलाई गर्नुपर्ने कर्तव्य र अधिकारमा पनि कटौती गरिँदै छ । जन्माएर, हुकाई, पढाएका छोराछोरी आमाबाबुका बसमा नरहने भइसकेका छन् ।
छोरा आफ्नो संस्कार छोडेर मनमौजी भएर आफ्नो खुट्टामा नउभिँदै बिहे गर्छ । आफू र श्रीमतीको पालनपोषण गर्ने हुति नभएको ऊ बाबुको अंशमाथि दागा धर्छ । आमाबाबु कसैले पनि आफ्ना छोराछोरी बिग्रिउन् नासिउन् भनेर चाहँदैनन् । जे जति गरेका हुन्छन् उनीहरूकै लागि गरेका हुन्छन् तर अधिकारका नाममा बाबुआमाका कतिपय अधिकार पनि खोसिएका छन् ।
केही दशक अघिसम्म पनि कति सुदृढ थियो, हाम्रो पारिवारिक संरचना । घरमा हजुरबा, हजुरआमादेखि नाति, नातिना सबै मिलेरै बसेका हुन्थे । एकअर्काको सुखदुःखमा सघाउ पुग्थ्यो तर आज एकल परिवारको नाममा बच्चाले जन्मेको दुई महिनासम्म पनि राम्ररी दूध खाना पाउँदैन । बामे सराइबाट एक खुड्किलो पार गर्दै आड लिएर हिँड्न मात्रै खोजेको हुन्छ परिवारको साथ छुटाएर विद्यालय पठाइन्छ ।
हजुरबुवा हजुरआमा बा आमा लगायतका नातासम्बन्धीबाट सिक्ने संस्कार बालबालिकाले मण्टेश्वरीबाट सिक्लान् ? बुद्धिको राम्रो विकास नहुँदै उनीहरूलाई अरुलाई कसरी पछार्ने र अघि बढ्ने भन्ने सीपमा लगाइन्छ । घर परिवारबाट सिक्ने संस्कार संस्कृति परम्परा सिक्न र सुख दुःख जस्ता मानवीय पक्षको अनुभूति गर्नबाट पनि उसलाई टाढै राखिन्छ ।
हाम्रो समाजमा विद्यालयलाई सिक्ने थलोभन्दा पनि यातना गृह बनाइएको छ । यिनैमध्ये सबैभन्दा राम्रो यातना गृहमा राख्न अभिभावकहरूको टाउको फोराफोर भइरहेको हुन्छ । प्रवेशिका वा दश जोड दुई निस्कँदा विद्यार्थीको हातमा राम्रो अंकको प्रमाणपत्र त हुन्छ, नैतिक रूपमा कसरी अघि बढ्नुपर्छ भन्ने प्रमाणपत्र हुँदैन ।
छोराछोरीले बाबुआमालाई हेरेनन्, सानाले ठूलालाई गर्नुपर्ने कर्तव्य पूरा गरेनन् भन्ने गुनासो खुबै सुनिन्छ । के हामीले सानालाई गर्नुपर्ने कर्तव्य पूरा गरेका छौं त ? हामी आफूचाहिँ बुढा बाबुआमाको छायाँ आफ्नो घरमै नपरोस् भनेझैं गर्छौँ अनि आफ्ना सन्तानबाट भने अपेक्षा राख्छौँ । आखिर जे रोप्यो त्यही नै फल्ने हो । जस्तो संस्कारमा हुर्केको छ उसले व्यवहार पनि उस्तै गर्ने हो । हामी बालबालिकालाई संस्कार, संस्कृति, परम्परा र प्राकृतिक कुराहरूबाट बञ्चित गराइरहेका छौँ । उनीहरूमा मानवीय गुणभन्दा पनि यान्त्रिक गुण भर्न लागी परेका छौँ ।
फलस्वरूप समाजमा अप्राकृतिक र अमानवीय गतिविधि बढिरहेका छन् । हाम्रा नातासम्बन्धहरूमा विचलन पैदा भइरहेको छ । समाज वा देशको सवार्ङ्गीण विकासका लागि मानवीय वा पारिवारिक पक्षको ठूलो भूमिका हुन्छ । यी पक्षहरूलाई बेलैमा मनन नगर्ने हो भने देश भौतिक रूपमा जतिसुकै सम्पन्न भए पनि त्यसको अर्थ रहँदैन ।
