इजरायलमा यहुदी पर्व मनाउन भेला भएकाहरुबीच भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ । उत्तरी इजरायलस्थित माउन्ट मेरोनमा भएको भागदौडमा दर्जनौं घाइते भएको स्थानीय पत्रिकालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ठूलो आपत आइलागेको भन्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । वार्षिक पर्व मनाउन दशौं हजार यहुदी भेला भएका थिए । भिड धेरै भएकाले उद्धार कार्यमा समेत कठिनाइ भइरहेको आपतकालीन सेवा प्रदायकहरुले जनाएका छन् । यहुदीहरुले हरेक वर्ष मनाउने सो पर्व गत वर्ष कोरोना भाइरस संक्रमणको महामारीका कारण रोकिएको थियो । यस वर्ष भने पर्व मनाउन ठूलो संख्यामा मानिसहरु भेला भएका थिए ।
