• Thursday 10th of September 2026

अफगानिस्तानमा तालिबानीको तीन दिने युद्धबिराम समाप्त, वार्ता प्रक्रिया शुरु


  • आशाका किरण

काबुल, २ जेठ (रासस–एपी) – अफगानिस्तानमा युद्धरत तालिबान समूहले ईद पर्वको अवसरमा गरेको तीन दिने युद्धविराम आइतबार समाप्त भएको छ । ईदका अवसरमा घोषणा गरिएको यस युद्धबिरामको अवधिमा पनि हिंसात्मक झडपहरु र बम हमला भएका थिए, तर अधिकांश हिंसात्मक घटनाको जिम्मेवारी अफगानिस्तानमा सक्रिय अर्को इस्लामिक संगठन इस्लामिक स्टेटले लिएको थियो ।
युद्धबिराम समाप्त भएसँगै सरकार र तालिबानबीच शान्तिवार्ता पुनः शुरु गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई आह्वान गरेका छन् ।
तालिबानका राजनीतिक मामिला सम्बन्धी प्रवक्ता सुहेल शाहीनले सरकार र तालिबानका प्रतिनिधिबीच कतारमा पुनः भेटवार्ता भएको बताउनुभयो । दुबै पक्षले शान्तिका प्रति आआफ्ना प्रतिबद्धता व्यक्त गरेको र रोकिएको वार्ता चाँडै शुरु गर्न सहमति जनाएको उहाँले बताउनुभयो ।
संयुक्तराज्य अमेरिकाले दुबै पक्षलाई शान्तिवार्ता जतिसक्दो चाँडो शुरु गर्न दबाब दिइरहेको छ । अमेरिकाले अफगानिस्तानमा तैनाथ करिब २५०० देखि ३००० सेना तथा नेटोले आफ्ना करिब सात हजार सेना आगामी सेप्टेम्बर ११ अघि नै फर्काउन थालेकाले पनि वार्ता प्रक्रिया जतिसक्दो चाँडो टुङ्ग्याउन अमेरिकाले दुबै पक्षलाई दबाब दिएको हो ।
पछिल्लो समय अफगानिस्तानमा इस्लामिक स्टेट समूह बढी सक्रिय देखिएको छ । देशका विभिन्न भागमा इस्लामिक स्टेटले बम हमला गरेर जनधनको ठूलो क्षति पु–याएको छ ।
यसैबीच, शनिबार चीनका विदेश मन्त्री वाङ यीले पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरेसीलाई टेलिफोन गरी अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिकको स्वदेश फिर्तापछिको अवस्थाका बारेमा चासो राख्नु भएको थियो ।
चिनियाँ विदेश मन्त्री वाङले विदेशी फौजको फिर्ती हतारमा भइरहेको र यसले अफगानिस्तानको शान्तिप्रक्रियामा गम्भीर असर पर्ने तथा क्षेत्रीय स्थायित्वमा नकारात्मक प्रभाव पर्ने बताउनु भएको थियो । उहाँले राष्ट्रसंघले आफ्नो भूमिका बढाउनुपर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij