• Thursday 10th of September 2026

चीनमा झण्डै ५० करोड डाेज खाेप लगाइयाे


  • आशाका किरण

बेइजिङ, ९ जेठ (रासस–सिन्ह्वा) – कोरोनाभाइरस महामारी शुरुमा देखिएको चीनमा शनिबारसम्म कोभिड–१९ विरुद्ध करिब ५० करोड डोज खोप लगाइएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७० हजार डोज खोप दिइएको छ ।

कोभिड–१९ का लक्षणहरु चीनका केही स्थानमा देखिएपछि हाल दैनिक झण्डै एक करोड ५० लाखका दरले खोप लगाउने अभियान सञ्चालन भइरहेको आयोगले जनाएको छ ।

विश्वमा हाल खोप लगाउने अभियानमा चीन अग्रस्थानमा छ । चीनले आफ्नै देशका सिनोफार्म समेतका कम्पनीले उत्पादन गरेका खोपहरु लगाइरहेको छ ।

बिबिसीका अनुसार विश्वभर करिब एक अर्ब ६० करोड डोज खोप लगाइएको छ ।

यस्तै, संयुक्तराज्य अमेरिकामा करिब १६ करोड तथा भारतमा करिब १५ करोड व्यक्तिले कम्तीमा एक डोज खोप पाएका छन् । त्यस्तै, ब्राजिलमा तीन करोड ८२ लाख, संयुक्त अधिराज्यमा तीन करोड ७५ लाख, जर्मनीमा तीन करोड ३२ लाख, फ्रान्समा दुई करोड २१ लाख, इटालीमा दुई करोड तथा क्यानडामा एक करोड ८७ लाखले खोप लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij