• Wednesday 9th of September 2026

व्यापारीले घटाए मकैको मूल्य, किसान चिन्तित


  • आशाका किरण

मकैको उचित मूल्य नपाउँदा झापाका किसान चिन्तित बनेका छन् । कोभिड–१९ को महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाको बहाना बनाएर स्थानीय व्यापारीले मकैको मूल्य घटाएका छन् । व्यापारीले मनोमानीरूपमा घटाएको मूल्यमा मकै बेच्नु पर्दा किसान चिन्तित बनेका हुन् ।

वैशाखमा निषेधाज्ञा लाग्नु अघिसम्म मकै प्रतिक्विन्टल रु दुई हजार ४०० मा विक्री हुने गरेको थियो । अहिले स्थानीय व्यापारीले किसानलाई प्रतिक्विन्टल रु एक हजार ९०० भन्दा बढी मूल्य दिएका छैनन् । दुई वर्षअघि नै प्रतिक्विन्टल रु तीन हजारमा किसानले मकै बेचेका थिए ।

झापाको कचनकवल, बाह्रदशी, झापा, कनकाई र गौरादहमा मकैको जोन तथा पकेट क्षेत्र विकास गरिएको कारण मकैको उत्पादन बढेको छ । जिल्लामा ४० हजार हेक्टर जमीनमा लगाइएको मकै खेतीबाट करिब दुई लाख ४० हजार मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

कचनकवल गाउँपालिका–४ का किसान रघुनन्द गणेशले अढाई बिघा जमीनमा मकै खेती गर्नुभएको थियो । प्रतिबिघा ५० क्विन्टलका दरले उत्पादन भएको जनाउँदै उहाँले व्यापारीकै मूल्यमा प्रतिक्विन्टल रु एक हजार ९०० का दरले बेच्नु परेको बताउनुभयो । “लकडाउन नभएको भए भारतीय व्यापारी पनि आउँथे, आफ्नो दाममा बेच्न पाउँथ्र्याैं”, उहाँले भन्नुभयो, “तर यतिबेला स्थानीय व्यापारीलाई उनीहरुकै दाममा दिनुपर्दा मकैमा फाइदा भएन ।”

केन्द्रका कृषि विज्ञ शालिकराम भट्टराईले जिल्लामा रहेका दाना उद्योगहरुले भारतको कोलकाताबाट मकै खरिद गरी ल्याउने र कुनै पनि पालिकामा मकैको लेबलिङ, प्याकेजिङ गरेर ग्रेडिङ छुट्याउने उद्योग नहुँदा किसानले आफ्नो उत्पादन सस्तो मूल्यमा बेच्नुपरेको बताउनुभयो ।

“जिल्लामा धानपछि सबैभन्दा बढी उत्पादन मकैको हुन्छ”, उहाँले भन्नुभयो, “उत्पादन राम्रो हुन्छ तर बजारीकरणमा समस्या हुँदा उनीहरु निरुत्साहित हुन थालेका छन् ।” उहाँले धानमा जस्तै सरकारले मकैको पनि समर्थन मूल्य तोकिदिएको भए किसानलाई राहत हुने उहाँले बताउनुभयो ।

उहाँले जिल्लाका मकै किसानहरु एकीकृत हुन नसक्दा पनि व्यापारीहरुले आफूखुशी मूल्य निर्धारण गरेको बताउनुभयो । जिल्लामा मकै जोन र पकेट क्षेत्रहरु घोषणा गरेर खेती गर्न सरकारले किसानलाई प्रेरित गरेर पनि बजारीकरणमा सहयोग नगर्दा समस्या भएको मकै किसानहरुको गुनासो छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij