• Wednesday 9th of September 2026

सामूहिक स्याउ उत्पादन जुटे युवा


  • आशाका किरण

कालिकोटको तिलागुफा नगरपालिका–३ फोइमहादेवका युवा सामूहिक स्याउखेतीमा लागेका छन् । स्याउका लागि उर्वरभूमि मानिएको सो वडाको फोइमहादेव गाउँका युवा सामूहिक स्याउखेतीमा लागेका हुन् ।

स्याउ सुपरजोन कार्यक्रम जुम्लाको सहयोगमा फोइमहादेव गाउँका युवा समूह गठन गरेर सामूहिक स्याउखेतीमा लागेका छन् । स्याउको राम्रो उत्पादन हुने क्षेत्र भएको र स्याउ सुपरजोन कार्यक्रमले सहयोग गरेकाले सामूहिक स्याउखेतीमा आफूहरुलाई लाग्न प्रेरित गरेको सुन्दर तरकारी तथा फलफूल समूहका अध्यक्ष शान्ति बुढाले बताउनुभयो । “स्याउका लागि हाम्रो गाउँ नै उर्वरभूमि हो, हामीले कसरी आत्मनिर्भर हुने भनेर समूहको गठन गरेका थियौँ”, उहाँले भन्नुभयो, “हामीले समूह गठन गरेर स्याउखेतीमा लाग्ने सोच बनायौँ, अहिले केही सहयोग स्याउ सुपरजोन कार्यक्रमले गर्दा सहज भएको छ ।”

सामूहिक स्याउखेतीका लागि स्याउ सुपरजोन कार्यक्रमको रु एक लाख ५० हजार अनुदान र समूहको रु एक लाख ५० हजार गरी स्याउको बारी सिँचाइ गर्नका पोखरी निर्माण गरिएको अध्यक्ष बुढाले बताउनुभयो । “हामीले सामूहिक स्याउ बारीमा पाँच हजार स्याउका बिरुवा रोपेका छौँ”, उहाँले भन्नुभयो, “पन्ध्र जनाको समूह सदस्यता रहेका छन्, स्याउका बिरुवा रोपिएका ठाउँमा सिँचाइका पोखरीसमेत निर्माण गरेका छौँ ।”

स्याउ र सिमी उत्पादनका लागि गाउँको माटो उपयुक्त भएका कारणले त्यसको उत्पादनमा लागेको स्थानीय प्रेमबहादुर बुढाले बताउनुभयो । “रोजगारीका लागि अन्य ठाउँमा जानुभन्दा कृषि पेशा गरेर गाउँमै राम्रो आम्दानी लिन सकिन्छ”, उहाँले भन्नुभयो, “गाउँमै स्याउ र सिमी खेतीका लागि राम्रो अवस्था रहेको छ, यसको माग पनि बढेका कारणले एकल खेती गर्नुभन्दा सामूहिक खेती गरौँ भनेर सबै लागेका छौँ ।”

कृषि र फलफूल उत्पादनका लागि विषेश जोड दिएको नगरपालिकाले प्रत्येक वर्ष कृषकहरुलाई स्याउलगायतका कृषिका क्षेत्रमा अनुदानको व्यवस्था गरेको वडाध्यक्ष नन्दबहादुर कटुवालले बताउनुभयो । “कृषि क्षेत्रबाट नै नगरपालिकालाई समृद्ध बनाउने योजना रहेको छ”, उहाँले भन्नुभयो, “त्यसै आधारमा कृषिमा लाग्ने युवाहरुलाई अनुदान दिएर प्रोत्साहन गर्ने गरेका छौँ ।”

नगरपालिकाको मुख्य आयस्रोतका रूपमा स्याउ, सिमी र ओखर रहेकाले त्यसको उत्पादन तथा प्रवद्र्धनमा विषेश जोड दिइएको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij