• Wednesday 9th of September 2026

शेयर बजारको उच्च वृद्धि प्राकृतिक र स्वाभाविक होइन : सेबोन


  • आशाका किरण

सेयर बजारमा अस्वाभाविक मूल्यवृद्धि भएका चार दर्जनभन्दा बढी सूचीकृत कम्पनीको कारोबार सम्बन्धमा अध्ययन भइरहेको धितोपत्र बोर्डले खुलासा गरेको छ । प्राविधिक र आधारभूत विश्लेषणका आधारमा जोखिमयुक्त मानिएका कम्पनीको नामावली सार्वजनिक गर्दै ती कम्पनीको कारोबार सम्बन्धमा विस्तृत अध्ययन गरिरहेको बोर्डले बताएको हो ।

नामावली सार्वजनिक भएका ५१ कम्पनीलाई ‘जोखिमयुक्त कम्पनी’ को संज्ञा दिँदै तिनमा लगानी गर्दा सचेत बन्न पनि बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ । सेयर बजारमा तीव्र चलखेल भइरहेको गुनासो आइरहेका बेला मंगलबार बोर्डले जोखिमयुक्त मानिएका कम्पनीको सूची सार्वजनिक गरेको हो । नाम सार्वजनिक भएका कम्पनीमा धेरैजसो जलविद्युत् छन् । बाँकीमा विकास बैंक, फाइनान्स कम्पनीलगायत छन् । प्रायः कम्पनी चुक्ता पुँजी कम भएका र सर्वसाधारणमा कम सेयर जारी गरेका छन् ।

एक वर्षमा सूचीकृत संस्थाको मूल्यवृद्धि ३ सय प्रतिशत र सोभन्दा धेरैले बढेका, मूल्य आम्दानी अनुपात (पीई रेसियो) सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका कम्पनीहरूको सेयर मूल्य उच्च वृद्धि भएकाले ती कम्पनी जोखिमयुक्त रहेको बोर्डले प्रस्ट्याएको छ । ‘सम्बन्धित संस्थाको सम्बन्धमा लगानीकर्ताले समेत आवश्यक जानकारी प्राप्त गरी लगानीसम्बन्धी निर्णय गर्न उचित हुने देखिएकाले हाललाई त्यस्ता जोखिमयुक्त कम्पनीको परिसूचकरविवरण सार्वजनिक गरिएको छ,’ बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ती कम्पनीहरूको सेयर कारोबारमा व्यापक चलखेल भएको पनि बोर्डको निष्कर्ष छ ।

‘ती कम्पनीका कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायतका धितोपत्रसम्बन्धी कसुरजन्य गतिविधि भएको प्रारम्भिक अध्ययनमा देखिएको छ,’ बोर्डले भनेको छ, ‘सोही आधारमा ती कम्पनीका कारोबार सम्बन्धमा समेत विस्तृत अध्ययन भइरहेको छ ।’ अध्ययनको सुझावका आधारमा दोषी देखिएका व्यक्ति वा संस्थालाई केकस्तो कारबाही गर्ने भन्ने सम्बन्धमा निर्णय हुने बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए ।

‘यी कम्पनीको मूल्यले वित्तीय अवस्थालाई प्रतिनिधित्व गरिरहेको छैन । यही कुरा लगानीकर्तामाझ राखिदिएका हौं,’ उनले भने, ‘यस्ता कम्पनीमा कस्ता लगानीकर्ताले किन लगानी गरिरहेका रहेछन् भन्नेबारे खोजी गरिरहेका छौं ।’ जोखिमयुक्त कम्पनी भनेर नामावली सार्वजनिक भइसक्दा पनि तिनै कम्पनीको सेयर मूल्य बढ्छरबढाइन्छ भने किन यस्तो गरेको भनेर ती लगानीकर्तालाई बोलाएर स्पष्टीकरण लिइने अध्यक्ष ढुंगानाको दाबी छ । ‘यति भए पनि अब ती लगानीकर्तालाई बोलाएर तपाईंले किन यस्तो गर्नुभएको भनेर सोध्ने आधार त बन्यो नि,’ उनले भने, ‘हाम्रो उद्देश्य आम सर्वसाधारण लगानीकर्ताको सम्पत्ति कसरी सुरक्षण गर्न सकिन्न भन्ने हो ।’

यी कम्पनीहरूबारे बोर्डले करिब एक साताअघि नै प्रारम्भिक अध्ययन पूरा गरे पनि सार्वजनिक गरेको थिएन । सोमबार बसेको बोर्ड सञ्चालक समिति बैठकमा यस विषयमा पनि धेरै छलफल भयो । बजार अस्वाभाविक रूपमा बढिरहेका सन्दर्भमा जतिसक्यो छिटो यस्ता सूचना बाहिर ल्याउनु उचित हुन्छ भन्ने निष्कर्षका आधारमा बोर्डले मंगलबार अध्ययनले जोखिमयुक्त ठहराएका ५१ कम्पनीको नामावली सार्वजनिक गरेको हो । ‘तीमध्ये ५ देखि ७ वटा कम्पनीबारे बोर्डले धेरै गहिराइमा गएर अध्ययन गरेको छ ।

कारोबारमा प्रमुख भूमिका रहेका ती कम्पनीका सञ्चालक वा ठूला लगानीकर्तालाई कारबाही गरेर मात्र जोखिमयुक्त कम्पनीको नाम सार्वजनिक गर्ने कि भन्ने विषयमा सञ्चालक समितिमा धेरै छलफल भयो,’ स्रोतले भन्यो, ‘विस्तृत अध्ययन गर्न समय लाग्ने भन्दै बोर्डले तत्काल यी कम्पनीको नामावली सार्वजनिक गर्न निर्देशन दिएको हो ।’ ती कम्पनीहरूमा जलविद्युत् र वित्त कम्पनी धेरै छन् । ती कम्पनीमा हदैसम्मको बदमासी भएको देखिन्छ । तर, बोर्डले चाहेर पनि ठूलो कारबाही गर्न सक्ने अवस्था नभएको स्रोतले बताएको छ ।

सेयर बजारमा भएको उच्च वृद्धि प्राकृतिक र स्वाभाविक नभएको नियामक निकाय धितोपत्र बोर्डको एक अर्को अध्ययनले पनि देखाएको छ । सबै पक्षबाट राम्रो अवस्था नभएका धेरै कम्पनीका सेयर मूल्य उच्च अंकले बढेकाले बजारको वृद्धि अस्वाभाविक देखिएको निष्कर्ष अध्ययनले निकालेको हो । बजार अस्वाभाविक रूपमा बढिरहँदा पनि मंगलबारसम्म बोर्डले न कुनै लगानीकर्ता वा कम्पनीलाई पत्र काटेको छ, न कसैलाई स्पष्टीकरण नै सोधेको छ ।

बोर्डको यही कमजोरीका कारण बजारमा चलखेल गर्नेलाई पनि हौसला मिलेको जानकारहरू बताउँछन् । ‘अध्ययन प्रतिवेदनमा मात्र दोषी देखाएर भएन,’ स्रोतले भन्यो, ‘तिनीहरूलाई कारबाही गरेर पनि देखाउनुपर्‍यो ।’ धितोपत्र बोर्डले भने लगानीकर्ताको हित संरक्षणका लागि बजारका हरेका क्रियाकलापलाई नजिकबाट अध्ययन गर्ने गरेको र बजार सहभागीको जोखिमको स्तरलाई विश्लेषण गरिरहेको दाबी गरेको छ ।

आजको कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij